काठमाडौं- अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ९६ करोड रुपैयाँ बराबरले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्ष २०७५/७६ मा ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षमा मात्र ६८ अर्ब ३६ करोड रुपैयाँ शोधनान्तर घाटा मुलुकले बेहोरेको छ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा गत आर्थिक वर्षमा ५९ करोड १० लाख रुपैयाँले घाटामा रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।
आर्थिक वर्ष २०७५/७६ मा चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३७ करोडले चालु खाता घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले घाटामा रहेको छ।
विदेशी विनिमय सञ्चिति
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेको छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
२०७६ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७५/७६ को आयातलाई आधार मान्दा बैकिंङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८ महिना ९ दिनको वस्तु आयात र ७ महिना ८ दिनको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ। समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३० प्रतिशत, ६४ दशलमव ९ प्रतिशत र २९ प्रतिशत रहेका छन्। २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६ दशमलव ४ प्रतिशत, ७८ दशमलव ६ प्रतिशत र ३५ दशमलव ६ प्रतिशत रहेका थिए।
बाह्य लगानी स्थिति
२०७६ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १० खर्ब ८० अर्ब १० करोड तथा दायित्व ९ खर्ब २१ अर्ब ९४ करोड रहेको छ। जसका कारण खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति (आइआइपी) १ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ रहेको छ। २०७५ असार मसान्तमा यस्तो रकम २ खर्ब ८२ अर्ब १२ करोड रहेको थियो।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको अनुमान गरेको छ। वार्षिक औसत मुद्रास्फीति ४ दशमलव ६ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षमा आयातको वृद्धिदर १३ दशमलव ९ प्रतिशत र निर्यातको वृद्धिदर १९ दशमलव ४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष आयातको वृद्धिदर २५ दशलमव ८ प्रतिशत र निर्यातको वृद्धिदर ११ दशमलव ४ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।