काठमाडौं - नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा परेका छन्। पुरुष/महिलामा समान १०/१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र संयोग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, नेपाली सेनाका कृष्ण थापा मगर, प्रहरीका सुनिल महर्जन तथा सेनाका मणिकुमार लामा छनोट भए ।
महिलामा प्रहरीकी नविता श्रेष्ठ, सेनाकी स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापा मगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए।
सागमा पुरुष/महिलामा समान ५/५ गरी १० खेलाडीले सहभागिताको अवसर पाउने प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराए । अन्तिम छनोट केही दिनको प्रशिक्षणपछि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।