काठमाडौं- श्रीलंकाविरुद्धको पहिलो टी-२० क्रिकेटमा न्युजिल्यान्ड ५ विकेटले विजयी भएको छ। घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार गरेको थियो।
१ सय ७५ रनको लक्ष्य न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३ बल अगावै भेट्टायो।

न्युजिल्यान्डलाई मध्यमस्तरको लक्ष्य पेश गरेको श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक ७९ रन र निरोशन डिकवेलाले ३३ रनको योगदान दिए। मेन्डिसको पारीमा ८ चौका र २ छक्का सामेल थियो।
न्युजिल्यान्डका टिम साउथीले २ तथा मिचर्ल सान्टनेरले १ विकेट हात पारे।
श्रीलंकाले दिएको लक्ष्य पार गर्ने क्रममा न्युजिल्यान्डका रोस टेलरले ४८ तथा कोलिन डी ग्रान्डहोमले ४४ रनको पारी खेले। श्रीलंकाका कप्तान लासिथ मलिंगा र वानिन्दु हसरंगाले समान २/२ विकेट लिए।

सुरुवातमा न्युजिल्यान्डलाई दबाबमा राखे पनि श्रीलंकाले जितका लागि उसलाई रोक्न भने सकेन। पहिलो रन टोलीको स्कोर बोर्डमा जोडिँदा नै न्युजिल्यान्डले विकेट गुमाएको थियो। ३९ रनको अवस्थामा ३ विकेट गुमाइसकेको भए पनि न्युजिल्यान्डका मध्यक्रममा ब्याट्सम्यानले टोलीलाई उकासेका थिए।
जितसँगै ३ खेलको शृंखलामा न्युजिल्यान्डले १-० ले अग्रता लिएको छ। यी दुईबीचको दोस्रो खेल मंगलबार क्यान्डीमा हुनेछ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।