काठमाडौं- कविता र निबन्धमा विद्रोही आवाजसहित विशेष छाप पार्दै आएकी सरस्वती प्रतीक्षा 'नथिया' मार्फत उपन्यासकारका रुपमा प्रस्तुत भएकी छिन्।
शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बादी समुदायकी अभियन्ता एवं प्रदेशसभा सांसद उमा बादीले 'नथिया' सार्वजनिक गरिन्।
बादी समुदायबारे केन्द्रित उपन्यासबारे टिप्पणी गर्दै उमाले आफूहरुको वास्तविक कथा लेखिदिएकोमा लेखकलाई धन्यवाद दिइन्।
'नथिया बादी समुदायको गीता, रामायण नै हो', उनले भनिन्।
कार्यक्रमका वक्ता पत्रकार तथा लेखक नारायण वाग्लेले नथिया समानताका लागि विश्व महिला आन्दोलनको नेपाली रुप भएको टिप्पणी गरे। साथै, उनले लेखक प्रतीक्षाले उपन्यासभित्र कतिपय ठाउँमा आफ्नो भावना र विचार मिसाएर कथालाई बाँध्न खोजेको भन्दै सुझाव समेत दिए, 'कथाबारे पाठकलाई स्वतन्त्र छोडिदिन लेखकले आफ्ना विचार नथोपरेको राम्रो।'
अर्की वक्ता राष्ट्रिय सूचना आयोगकी आयुक्त यसोदा तिम्सिनाले आफूले सुरुमा कम आँके पनि पुस्तक निकै असरदार लागेको अनुभव सुनाइन्।
'ठीकैको किताब होला भन्ने ठानेर पढ्न थालेको थिएँ, तर किताबले धेरै पटक रूवायो, धेरै पटक हल्लायो', उनले भनिन्।
बादी समुदायभित्रको यौन व्यवसाय र त्यसप्रति बादी परिवारकै एउटी युवतीको विद्रोह प्रस्तुत गरिएको कृतिको रचनागर्भ सुनाउँदै लेखक प्रतीक्षाले यस्तो संवेदनशील विषयमा साहसले नभई दुस्साहसले लेखेको बताइन्।
'बादी महिलाहरुसँग संवाद गरेर यथार्थ लेखेकी हुँ', उनले भनिन्, 'देह व्यापारसँग जोडिएको यो कथामा कति यातना र कठोर कुरा छन्, जो मैले लेख्न सकेकी छुइनँ।'
प्रतीक्षाले यसअघि कविताकृति 'बागी सारंगी' प्रकाशन गरेकी थिइन्।
कार्यक्रममा फिल्म निर्देशक दीपेन्द्र के खनालले 'नथिया'माथि फिल्म बनाउने घोषणा गरे।
पुस्तक बुक-हिल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।