काठमाडौं– भारतीय युवा टिमले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै चौथोपटक आइसिसी यू–१९ विश्वकपको उपाधि जितेको छ। फाइनलमा भारतलाई सानदार जित दिलाउन ओपनिङ ब्याट्सम्यान मन्जोत कार्लाले शतक प्रहार गरे। उनले १ सय १ रनको सानदार इनिङ खेलेपछि भारत चौथो पटक च्याम्पियन बनेको हो।
१९ वर्षीय कार्ला यहि साता इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए। उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आवद्ध गरेको थियो। दिल्लीमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने पनि आवद्ध छन्। उनी पनि २० लाख भारुमै आवद्ध भएका थिए।
दिल्लीमा भारतका यू–१९ टिमका कप्तान पृथ्वी साह र बलर अभिषेक शर्मा पनि आवद्ध छन्। पृथ्वी २० लाख भारुमा आवद्ध हुँदा अभिषेकलाई ५५ लाख भारुमा दिल्लीले किनेको थियो। शनिबार अस्ट्रेलिया विरुद्धको फाइनलमा पृथ्वीले २९ रन जोड्द बलर शर्माले विकेट लिन सकेनन्।
शतक प्रहार गरेर फाइनलको म्यान अफ दि म्याच बनेका कार्लाले गत कार्तिकमा भएको यू–१९ एसिया कपमा नेपालविरुद्ध खेलका थिए। खेलमा उनी ३५ रनमा आउट भएका थिए। उनलाई पवन सर्राफले रोहितकुमार पौडेलबाट क्याच गराएका थिए।
एसिया कपमा कार्लाविरुद्ध सन्दीपले ७ बल बलिङ गर्दा ३ रन मात्र दिएका थिए। अब भने दुई खेलाडी आगामी अप्रिलमा हुने आइपिएलमा एउटै टिमबाट देखिनेछन्।
यू–१९ विश्वकपमा अस्ट्रेलिया विरुद्ध फाइनलमा उत्रिएका ११ मध्ये ३ भारतीय खेलाडी गत कार्तिकमा मलेसियामा भएको एसिया कपमा नेपाल विरुद्ध उत्रिएका थिए। खेलमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो। नेपालले भारतको कुनै पनि क्रिकेट टिमलाई पराजित गरेको त्यो पहिलो अवसर थियो। खेलपछि भारतका यू–१९ टिमका प्रशिक्षक राहुल द्रविडले नेपालका प्रशिक्षक विनोद दासलाई ड्रेसिङ रुपमै आएर बधाइ दिएका थिए।
अस्ट्रेलियाविरुद्ध फाइनल उत्रिएका कार्ला र अभिषेक शर्मासँगै शिव सिंहले पनि नेपालविरुद्ध खेलेका थिए। अभिषेकले नेपाल विरुद्ध २७ रन जोड्दा २ विकेट हात पारेका थिए। उनलाई दिपेन्द्रसिंह ऐरीले पेभेलियन फर्काएका थिए। शिवले नेपाल विरुद्ध १ विकेट लिदा ९ रन जोडेका थिए। शिवलाई पनि दीपेन्द्रले आफ्नो सिकार बनाएका थिए। शनिबार अस्ट्रेलियाविरुद्धको फाइनलमा शिवले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।