काठमाडौं- हिन्दू नारीहरुको महान चाड तीज सुरु हुनु अघिल्लो साता वाणिज्य बैंकहरुबाट ३ किलो मात्रै सुन बिक्री भएको छ। अघिल्लो साता १० किलो सुन बैंकहरुबाट बजारमा बिक्री भएकोमा यो साता त्यसको तुलनामा निकै कम सुन बिक्री भएको नेपाल बैंकर्स संघले जनाएको छ।
बैंकर्स संघका अनुसार अहिले विभिन्न वाणिज्य बैंकमा ६३३ किलो सुन मौज्दात छ। अघिल्लो आइतबार यस्तो मौज्दात ६३६ किलो थियो। सुनको भाउ निकै आकाशिएकाले बजारबाट माग नै नआएकाले सुनको बिक्री बढ्न नसकेको बैंकरहरुले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षका तिजमा दैनिक ३५ देखि ४० किलोसम्म सुन बिक्री हुने गरेकोमा यसपटक त्यसको १० प्रतिशत मात्रै सुन बिक्री भएको छ। ग्राहकको क्रयशक्तिभन्दा सुनको मूल्य उच्च भएकाले बजार नै सुनसान जस्तै देखिएको छ।
आयातित सुनको बिक्री नबढ्दा वाणिज्य बैंकहरुले करिब डेढ महिना यता सुन ल्याएका छैनन्। नेपालमा औपचारिक बाटोबाट वाणिज्य बैंकहरुले मात्रै सुन ल्याउन पाउँछन्। २८ मध्ये सबै वाणिज्य बैंक भने सुन आयात गर्दैनन्। वाणिज्य बैंकहरुले आफूँसग भएको सुनको मौज्दात परिमाण बैंकर्स संघलाई जानकारी गराउनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।