माउन्ट मौनगुनिया– आइसिसी यू–१९ विश्वकप क्रिकेटमा भारत सवैभन्दा सफल टिम बनेको छ। शनिबार भएको फाइनलमा अस्ट्रेलियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारत चौथो पटक च्याम्पियन बनेको हो।
यसअघि अस्ट्रेलिया र भारतले ३–३ पटक उपाधि जितेका थिए। भारतले पछिल्लो पटक सन् २०१२ मा यू–१९ को उपाधि उचालेको थियो। त्यसअघि सन् २००८ र २००२ मा पनि भारत च्याम्पियन बनेको थियो।
न्युजिल्यान्डको माउन्ट मौनगुनियामा शनिबार भएको फाइनलमा अस्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारतले ३८.५ ओभरमा २ विकेटको नोक्सानीमा पार गर्यो।
भारतको जितमा ओपनिङ ब्याट्सम्यान मन्जोत कार्लाले शतक प्रहार गरे। उनले नटआउट १ सय १ रन जोडे। १ सय २ बल खेलेका उनले ८ चौका र ३ छक्का हिर्काए। हार्विक देसाईले नटआउट ४७ रन बनाए। ओपनर तथा कप्तान पृथ्वी साह २९ रनमा आउट हुँदा शवमान गिल ३१ रनमा पेभेलियन फर्केका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४७.२ ओभरमा २ सय १६ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि मध्यक्रमका ब्याट्सम्यान जोनाथन मेर्लोले ७६ रन जोडे। ओपनर ज्याक इडवार्डले २८ रन जोड्दा परम उप्पलले ३४ रन बटुले।
अस्ट्रेलियालाई सामान्य योगफलमा रोक्ने क्रममा भारतका इशान पोरेल, शिव सिंह, कमलेश नागरकोटी र अनुकुल रोएले २–२ विकेट लिन सफल भए। शिभम् माविले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।