काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन्।
शंखमूलमा रहेका पाँच वटा टोलसुधार समितिले हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा नेता सिंहले प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दति अनुसार चल्न नसक्दा कमजोर भएको टिप्पणी गरे।
'अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु', उनले भने।
पूर्वमहामन्त्री सिंहले निर्वाचन भएको दुई वर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको चर्चा गर्दै जनताको जनादेश अनुसार कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो।
'हामी संसदमा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौं', उनले भने।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसदमा राख्न मतदाताले बेलाबेलामा जनप्रतिनिधिको खबरदारी गर्नुपर्ने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।