काठमाडौं- शेयर बिक्रीको कर दायित्वबाट मुक्त नहुँदै व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमले कर चुक्ता प्रमाणपत्र माग गरेको छ। नेपाल स्याटेलाइटको शेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर चुक्ता नगर्दै कम्पनीले आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरसँग कर चुक्ता प्रमाणपत्र मागेको हो।
नेपाल स्याटेलाइटमाथि बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले ४ अर्ब ३२ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरेको थियो। आर्थिक वर्ष २०६८/०६९ मा साइप्रसको एयरवेल सर्भिसेसबाट नेपाल स्याटेलाइटको स्वामित्व टेलियासोनेरालाई बेच्दा भएको लाभमा कर निर्धारण गरेको हो।
यो रकम नतिरेर कम्पनीले कर कार्यालयविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले नेपाल स्याटेलाइटको पक्षमा अन्तरिम आदेश नदिएपछि कर कार्यालयले असुली प्रक्रिया अघि बढाएको थियो। कर कार्यालयले असुली प्रक्रिया अघि बढाएकै बेला कम्पनीले कर चुक्ता प्रमाणपत्र मागेको हो।
'कम्पनीले अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र माग गरेको छ, हामीले उनीहरुले तिर्नुपर्ने पुँजीगत लाभकरको दायित्वबारे जानकारी गराएका छौँ,' कर कार्यालय स्रोतले भन्यो, 'उहाँहरु हाम्रो निर्णयको विरुद्धमा अदालत जानुभयो, अदालतले भनेजस्तो आदेश नदिएपछि अहिले कर चुक्ता प्रमाणपत्र माग गर्न आइपुग्नुभएको छ।'
एयरवेलले टेलियासोनेरालाई ५ अर्ब ७१ करोड रुपैयाँमा नेपाल स्याटेलाइटको शेयर बिक्री गरेको थियो। यो कारोबारमा ५ अर्ब ६३ करोड ५० लाख ५० लाख रुपैयाँ पुँजीगत लाभ भएकोले त्यसको २५ प्रतिशत कर निर्धारण भएको कार्यालयले जनाएको छ।
यो कारोबारमा लाग्ने १ अर्ब ४० करोड रुपैयाँ कर तथा त्यसको दोब्बर जरिवाना र ब्याजसमेत गरी बैसाख ३१ गते ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६ सय ८८ रुपैयाँ कर निर्धारणको पत्र दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।