बेइजिङ- आपसी हित र पारस्परिक आवश्यकताको लागि चीन र ल्याटिन अमेरिकी देशहरुबिच पछिल्लो समयमा सम्बन्ध विस्तार भएको चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले बताएकी छिन्।
ल्याटिन अमेरिकी देशहरुको भ्रमणमा निस्कनु अघि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले चिनियाँ लगानीको अहिलेको मोडेलले ल्याटिन अमेरिकाका लागि राम्रो नगर्ने बताएका थिए। बिहिबार टेक्सास विश्वविद्यालयमा आफ्नो धारणा राख्दै टिलर्सनले ल्याटिन अमेरिकी देशमा चीन र रूसको बढ्दो उपस्थितिले खतरा उत्पन्न गर्नसक्ने समेत दावि गरेका थिए।
टिलर्सनको सो भनाईको खण्डन गर्दै चीनको आधिकारिक धारणा शुक्रबार बाहिर आएको हो।
जवाफमा प्रवक्ता चुनइङले अमेरिकाको सो आरोप सत्य नभएको र ल्याटिन अमेरिकी देशहरुको अनादार भएको दावी गरिन्।
विकासोन्मुख देश, चीन तथा ल्याटिन अमेरिकी राष्ट्रहरु विकासको एउटै प्रकृयामा रहेको बताउँदै चुनइङले भनिन्,‘यो सबैका लागि जीत्न सुरु गरिएको सहकार्य हो। जसको प्रमुख आधार समानता, पारस्परिकता, स्वतन्त्रता नै हो।’
उनले चीन ल्याटिन अमेरिकी थोक वस्तुको एक प्रमुख अन्तर्राष्ट्रिय क्रेता रहेको र ठूलो मात्रामा कृषि सामाग्री र बहुमल्य वस्तुको आयात पनि सोहि क्षेत्रबाट नै हुने गरेको जानकारी दिइन्। उनले चीनको ल्याटिन अमेरिकी राष्ट्रहरुसँगको आर्थिक साझेदारी तथा लगानी अन्तर्राष्ट्रिय वाणिज्य कानुन तथा स्थानीय नीति नियमअनुरुप नै रहेको जिकिर गरिन्।
प्रवक्ता चुनइङका अनुसार चीन, ल्याटिन अमेरिकी राष्ट्र तथा क्यारेवियन क्षेत्रका देशहरुबिचमा दोस्रो पटक मन्त्री स्तरिय वार्ता अघिल्लो महिना मात्रै सम्पन्न भईसकेको छ। सो अवसरमा तीनै पक्षले महत्वपूर्ण तीन मुद्दामा सहमती गरेको र चीनसँग लामो साझेदारीको पक्षमा दुवै क्षेत्र तयार रहेको पनि उनले जानकारी दिइन्।
उनले भनिन्,‘चीन र ल्याटिन अमेरिकी राष्ट्रहरु बिचको साझेदारी कुनै पनि तेस्रो पक्षका लागि हानिकारक छैन। यो संबन्ध खुला र समावेसी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।