काठमाडौं- भदौ १० गतेदेखि भृकुटीमण्डपमा जारी नाडा अटो शोको आज अन्तिम दिन हो। ५ दिनमा नाडा अटो शोको अवलोकन करिब ७३ हजारले गरेको नाडाले जनाएको छ। शनिबार एकै दिन २० हजार अवलोकनकर्ता नाडा अटो शो पुगेका थिए।
१४औं संस्करणको अटो शोमा १ दर्जनभन्दा बढी नयाँ कार तथा करिब १ दर्जन नयाँ मोटरसाइकल सार्वजनिक भए। मेलामा मारुती सुजुकीले सबैभन्दा धेरै गाडी सार्वजनिक गरेको थियो भने हुन्डाई, टोयोटा, टाटा, रेनो, मित्सुबिसी, होन्डा लगायतका ब्रान्डले नयाँ गाडी सार्वजनिक गरेका छन्।
मोटरसाइकलतर्फ यामाहा, सुजुकी, टिभिएस, बजाज, होन्डा, हिरो, एमभी अगस्टा, बेनेली, सिएफ मोटो, केटिएम लगायतका ब्रान्डले नयाँ मोडल सार्वजनिक गरे। त्यस्तै यो वर्षको अटो शोमा इलेक्ट्रिक दुई पांग्रे सवारीसमेत सार्वजनिक भएको र उपभोक्ता आकर्षित गरेको नाडाको भनाइ छ।
नाडा अटो शोको यस संस्करण सफल भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुपकुमार बरालले बताए। ‘आज नाडा अटो शो २०१९ को अन्तिम दिन हो । यो वर्ष हामीले अपेक्षा गरेभन्दा धेरै उपभोक्ताको सहभागिता हुने निश्चित भएको छ,’ उनले भने, ‘अटो शोले उपभोक्ता तथा व्यवसायीमा उत्साह थपेको छ।’
अटो शो विगतका वर्षहरुमा भन्दा सस्तो ब्याजदरमा बैंकहरुले अटो लोन दिनेगरी योजना ल्याएर ग्राहकलाई आकर्षित गरिरहेको छन्। यसले पनि उत्साह थपेको बरालले बताए।
दुईपांग्रे र चारपांग्रे गरी ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन्। त्यस्तै, बैंक तथा स्पेयर पार्टस्लगायत सबै गरेर अटो शोमा कूल ९० भन्दा बढी कम्पनीको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।