जमैका- हनुमा बिहारी र जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरेपछि वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारत अघि देखिएको छ।
जीवनको पाँचौं अन्तर्राष्ट्रिय टेस्ट म्याच खेलिरहेका हनुमाले पहिलो शतक प्रहार गरेपछि भारतले पहिलो पारीमा ४ सय १६ रनको योगफल तयार गर्यो। उनले १ सय ११ रनको योगदान दिए।
यस्तै कप्तान विराट कोहली (७६), इशान्त शर्मा (५७) र मायांक अग्रवाल (५५)ले अर्धशतक बनाए। वेस्ट इन्डिजका जसोन होल्डरले ५ तथा राहकिम कोर्नवालले ३ विकेट हात पारे।

जमैकाको किंगस्टनस्थित सविना पार्कमा आफ्नो पहिलो पारी सुरु गरेको वेस्ट इन्डिजले दोस्रो दिनको खेल समाप्त हुँदासम्म ७ विकेट गुमाइसकेको छ र उसको खातामा मात्र ८७ रन छ।
वेस्ट इन्डिजलाई दबाबमा राख्दै भारतका जसप्रित बुमराहले ह्याट्रिकसहित ६ विकेट लिए। ९.१ ओभर मात्रै बलिङ गरेका उनले ३ मेडन राख्दै मात्र १६ रन खर्चिएका छन्।
नवौं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले क्रमश: ड्यारेन ब्राभो, समराह ब्रुक्स र रोस्टन चेजलाई पेवेलियन फर्काएका थिए। योसँगै टेस्ट म्याचमा ह्याट्रिक लिने उनी तेस्रो भारतीय बलर बनेका छन्। यसअघि हरभजन सिंह र इरफान पठानका नाममा यो कीर्तिमान थियो।
हरभजनले सन् २००१ मा कोलकातामा अष्ट्रेलियाविरुद्ध र इरफानले सन् २००६ मा कराँचीमा पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए।
बुमराहले १२औं टेस्ट म्याचका दौरानमा सो उपलब्धि हात पारेका हुन्।
वेस्ट इन्डिजका मात्र ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके। सिम्रोन हेटमेरले ३४, कप्तान जसोन होल्डरले १८ र क्रिग ब्राथवेटले १० रन जोडे।
वेस्ट इन्डिजले गुमाएको बाँकी एक विकेट मोहम्मद सामीको नाममा रह्यो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।