लण्डन- बेलायती प्रधानमन्त्री थेरेसा मेले बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन बेलायती जनताको चाहना बमोजिम गरिएको निर्णय भएको शुक्रबार बताएकी छन्।
तीन दिनको चीन भ्रमणमा रहेकी प्रधानमन्त्री मेले आफू अप्रिलमा शुरु भएको बेलायतको इयूबाट बहिर्गमनको प्रक्रियालाई अघि बढाउन लागिपरेको बताइन्। तर उनले बहिर्गमनपछि बेलायतले इयुबाट कस्तो खालको सम्बन्ध चाहेको भन्ने विषयमा भने खुलाउन चाहिनन्।
व्यापारलाई अवरोध पार्ने पक्षमा हुनुहुन्छ वा बेलायतको आफ्नै बाटो तय गर्ने शक्तिको पक्षमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्,'हाम्रोबीचमा रहेका विकल्पहरू यी होइनन्। हाम्रो विकल्प भनेको राम्रो व्यापारिक सम्झौता गर्ने हो।'
प्रधानमन्त्रीलाई कन्जरभेटिभ पार्टीबाट समेत यस हप्ता ब्रेक्जिटबारे प्रष्ट धारणा अघि सार्न दवाव आएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
इयूसँगको व्यापार सम्झौताले बेलायतलाई नराम्रो प्रभाव पार्ने मुल्याङ्कन भएको सरकारका आन्तरिक कागजात सार्वजनिक भएको र यसले बेलायतमा तनाव थपिएको बताइएको छ।
प्रधानमन्त्री मेले भनिन्,'बेलायती जनताले ब्रेक्जिटको पक्षमा मतदान गर्नु भनेको बेलायती मुद्रा, सीमाना, कानूनलाई आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्य थियो र हामीले यही अनुरुप वार्तालाई अघि बढाईरहेका छौँ।'
'हामी सीमाभन्दा पर पनि व्यापार गर्न सक्ने कुराको प्रत्याभूत गर्न चाहन्छौ। अहिले वार्ताको थालनी भएको छ। वार्ताको समाप्तिसँगै सम्झौतालाई संसदमा प्रस्तुत गरिने र अत्यधिक मतदानले यसलाई पारित गरिनेछ।', उनले भनिन्। रासस/एएफी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।