सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-८, कटकुवामा मृत अवस्थामा भेटिएका गाईको विषयमा छानबिन समिति गठन गरिने भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय प्रशासनसँगको सहकार्यमा छानबिन समिति गठन गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले पशु, चौपायाहरुको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा छानबिनका लागि समिति गठन गर्ने जानकारी दिएको हो।
८ वटा मालवाहक ट्रकमा नेपालगञ्जको कान्जीहाउसबाट सुर्खेत हुँदै दैलेखको श्रीस्थानका लागि लैजानेक्रममा गाई तथा गोरुको मृत्यु भएको उप-महानगरपालिकाले जनाएको छ। उप-महानगरका कार्यबाहक नगरप्रमुख सुनिलसिंह हमालद्वारा जारी विज्ञप्तिमा नेपालगन्ज उपमहानगरपालिकामा रहेका छाडा पशुचौपाया व्यवस्थापनका लागि दैलेख पठाइएको बताइएको छ।
उनका अनुसार १६ गाईगोरु मृत पाइएको छ। जंगलमा फेला परेकामध्ये एक सय ५० भन्दा बढी गाईगोरु घाइते छन्। प्रहरीका अनुसार बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका ८ वटा ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएका थिए। १२ वटा गाई सुब्बाकुनामै छोडिएको भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलका अनुसार ५ वटा ट्रक र सोही सवारीका चालकलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा ना६ख ४९४९ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका-२ का ३२ वर्षीय दामोदर केसी, ना६ख ९९०५ नम्बरको ट्रकका चालक बाँके कोहलपुर नगरपालिका-१४ का ३४ वर्षीय हिम बहादुर जिसी, ना६ख ९१७७ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका-४ का २८ वर्षीय विवेक कुवँर छन्।
यस्तै भे१ख १०१५ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका-५ का २७ वर्षीय सागर विश्वकर्मा र ना५ख ६६७४ नम्बरको ट्रकका चालक नवलपरासी पश्चिम सरावल गाँउपालिका-१ का २९ वर्षीय सुकधन चौधरीलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको कान्जिहाउसमा रहेका करिब ३ सय ७० गाई सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म पुर्याउन सहयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई उपमहानगरले पत्र लेखेको थियो। भदौ ८ गते कार्यपालिकाको निर्णयअनुसार उपमहानगरपालिकाले जिल्ला प्रशासनलाई सोका लागि अनुरोध गर्दै पत्र पठाएको थियो।
स्थलगत निरीक्षणपछि प्रहरी टोलीले २३ वटा गाई मृत अवस्थामा भेटाएको थियो। मृत भेटिएका चौपायाको मुचुल्का र पोष्टमार्टम वीरेद्रनगर नगरपालिकाको रोहवरमा स्थानीय प्रशासनले गरेको छ। अन्य ७ वटा गाई गम्भीर घाइते अवस्थामा रहेका र अन्य गाईहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।
घाइते गाईको उपचार गरिरहेको र प्रहरीलाई आवश्यक कारबाही थाल्न अनुरोध गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले बताए। ‘गाइको हत्या गर्ने जोसुकै भएपनि कडा कारबाही गर्न प्रहरीलाई अनुरोध गरेका छौं,' उनले भने।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।