काठमाडौं- दैलेखको श्रीस्थान लैजाने भन्दै नेपालगन्जको कान्जीहाउसबाट लगिएका गाईलाई सुर्खेतको वीरेन्द्रनगरमा भिरबाट खसालिएको घटनाका सम्बन्धमा छनबिन गर्न सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गृह मन्त्रालयलाई अनुरोध गरेका छन्।
आज एक पत्र पठाउँदै मन्त्री राईले नेपालगन्जबाट आठ वटा ट्रकमा २ सय ९१ वटा गाई र गोरुलाई सुर्खेतको वीरेन्द्रनगर-८ स्थित कटकुवा जंगलमा भिरबाट खसालिएको सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बाटो हुँदै दैलेख लैजाने क्रममा वीरेन्द्रनगर-८ को कटकुवामा गाईहरुलाई शुक्रबार बिहान ३ बजे ट्रकबाट ओरालिएको थियो। सोपश्चात् गाईलाई भीरबाट खसालिएको थियो। जसमध्ये हालमसम्म २३ वटा गाईको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी घाइते छन्।
मन्त्री राईले घटनामा संगग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि आफूलाई विभिन्न माध्यमबाट सूचना तथा अनुरोध आइरहेकोले कानुनविपरीत राष्ट्रिय जनावरको बध तथा हत्याका सम्बन्धमा आवश्यक छानबिन तथा कारबाहीका लागि अनुरोध गरेका छन्। घटनालाई लिएर जनमानसबाट आक्रोशपूर्ण अभिव्यक्ति आइरहेको बताउँदै उनले गृह मन्त्रालयलाई छानबिनका लागि अनुरोध गरेका हुन्।
.jpg)
प्रहरीका अनुसार बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका ८ वटा ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएका थिए। गाईगोरु छोडेर नेपालगञ्ज फर्कंदै गरेका ५ वटा ट्रकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
यो पनिः
दैलेख लैजान ल्याइएका गाईगोरु गन्तव्य नपुग्दै किन भिरबाट खसालियो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।