काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतमा ठूलो संख्यामा गाई मृत भेटिनु दु:खद, शंकास्पद र निन्दनीय भएको जनाएको छ।
नेपालगन्जबाट आठ वटा ट्रकमा २ सय ९१ वटा गाई र गोरुलाई सुर्खेतको वीरेन्द्रनगर-८ स्थित कटकुवा जंगलमा भिरबाट खसालिएको सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राप्रपाले सो घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
बिहीबार राति नेपालगञ्जको कान्जी हाउसबाट दैलेखतर्फ लगिएको भनिएका २ सय ९१ वटा गाईगोरुमध्ये शुक्रबार बिहान २३ वटा मृत र १ सय ५० भन्दा बढीको संख्यामा घाइते भेटिएका भन्ने समाचारप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।
हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दु:खद, शंकास्पद र निन्दनीय भएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राप्रपाले 'घटनाको तत्काल छानबिन गर्न तथा नियतवश नै यस्तो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न' सरकारसँग माग गरेको छ।
दैलेखको श्रीस्थान लैजाने भन्दै नेपालगन्जको कान्जीहाउसबाट लगिएका गाईलाई वीरेन्द्रनगर-८ को कटकुवामा शुक्रबार बिहान ३ बजे ट्रकबाट ओरालिएको थियो। सोपश्चात् गाईलाई भीरबाट खसालिएको थियो। जसमध्ये हालमसम्म २३ वटा गाईको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी घाइते छन्।
घटना किन र कसले गराएको हो भन्ने सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ। प्रहरीले हालसम्म ५ वटा ट्रक तथा त्यसका चालकलाई नियन्त्रणमा लिई छानबिन गरिरहेको बताएको छ।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।