एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बिहीबार दक्षिण अफ्रिका विरुद्ध शतक प्रहार गर्दै एकदिवसीय शतक संख्या ३३ पुर्याए।
डर्विनमा भएको पहिलो एकदिवसीय खेलमा कोहलीले १ सय १२ रन प्रहार गर्दै ३३ औं एकदिवसीय शतक प्रहार गरेका हुन्। टेस्टमा २१ शतक प्रहार गरेका कोहलीले समग्र शतक संख्या ५४ पुर्याए।
कोहलीको शतकसँगै खेलमा भारतले खेलमा ६ विकेटको सानदार जित दर्ता गरायो।
कोहलीले दक्षिण अफ्रिकामा भएको एकदिवसीय खेलमा पहिलो पटक शतक प्रहार गरेका हुन्। योसँगै उनले ९ देशमा एकदिवसीय शतक प्रहार गरे। कोहली टेस्ट मान्यता प्राप्त १२ देश मध्ये पाकिस्तान, अफगानिस्तान र आयरल्यान्डबाहेक अन्य देशमा खेलेर शतक बनाइसकेका छन्।
कोहलीले दक्षिण अफ्रिकाको मैदानमा दशौं इनिङमा शतक प्रहार गर्न सफल भएका हुन्। कोहलीले सबैभन्दा बढी शतक घरेलु भूमीमा बनाएका छन्। घरमा ७६ एकदिवसीय खेल खेल्दै उनले १४ शतक बनाएका छन्। यस्तै बंगलादेशमा १५ इनिङ खेलेर ५ एकदिवसीय शतक बनाएका थिए।
अस्ट्रेलियामा र श्रीलंकामा २३–२३ इनिङ खेलेर समान ४–४ शतक बनाएका छन्। यस्तै उनले वेस्ट इन्डिजमा १५ इनिङ खेलेर २ शतक बनाएका छन्। इंग्ल्यान्डमा १९ इनिङ खेलेर १ शतक, न्युजिल्यान्डमा ७ इनिङ खेलेर १ शतक र जिम्वाबेमा ७ इनिङ खेलेर १ शतक प्रहार गरिसकेका छन्।
यसअघि ९ देशमा शतक बनाउने खेलाडी भारतका सचिन तेन्दुल्कर र श्रीलंकाका सनथ जयसूर्या थिए। दुवैले १० वटै टेस्ट राष्ट्रमा एकदिवसीय खेल खेलेका थिए। तेन्दुल्करले वेस्ट इन्डिज र जयसूर्याले जिम्वाबेमा शतक बनाउन सकेका थिएनन्। कोहलीले पाकिस्तानमा अहिलेसम्म खेलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।