राजविराज– निर्माण कम्पनीको लापरवाही र जिल्ला प्राविधिक कार्यालयको बेवास्ताका कारण सप्तरीको कुशाहा–बेल्ही सडकको निर्माण कार्य अलपत्र परेको छ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत ११ करोड १ लाख ७९ हजार ५ सय ५२ रुपैयाँमा ठेक्का लागेको उक्त योजना ०७३ साउन १० गते सम्पन्न हुनुपर्ने थियो। तर, निर्माण अवधि सम्पन्न भएको डेढ वर्ष बितिसक्दा सडकको आधा काम पनि सकिएको छैन।
कुशाहा चौकदेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करिब साढे १६ किलोमिटर सडक निर्माण गर्ने ठेक्का काठमाडौंको खसीबजारस्थित श्री पप्पु मृतसञ्जीवनी जेभीले पाएको छ। करिब ५० प्रतिशत काम सकेर ठेकेदार कम्पनीले काम छाडेको स्थानीयले जानकारी दिए। तर, जिल्ला प्राविधिक कार्यालयका अनुसार, कम्पनीले ७ करोड ३५ लाख ९४ हजार ३ सय ४५ रुपैयाँ निकासा लिइसकेको छ।
कम्पनीले हालसम्म सम्पन्न गरेको काम पनि गुणस्तरहीन पाइएको छ। सडकमा ठाउँ–ठाउँमा खाल्टा परेर यात्रा गर्न जोखिमपूर्ण भएको स्थानीय दीपेन्द्र पासवानले बताए। योजना अन्तर्गत सडकका दुवै किनाराको नाला निर्माणमा पनि चरम लापरवाही भएको उनको भनाइ छ। इँटा, सिमेन्ट लगायतका निर्माण सामग्रीहरु कमसल र गुणस्तरहीन प्रयोग गरेकाले १ वर्ष नपुग्दै नाला भत्किन थालेको पासवानले जानकारी दिए।
नाला निर्माण गरेर ढक्कन नलगाउँदा दुर्गन्धले स्थानीयवासीलाई बसिनसक्नु भएको बेल्हीका मो. हन्सुले गुनासो गरे। यस्तै, सम्झौता अनुसार बृक्षारोपणको काम पनि नभएको मलहनियाँका महेश यादवले बताए।
‘सडकको दुबै किनारमा विरुवा रोप्नुपर्ने थियो’, उनले भने, ‘२०/२५ वटा विरुवा रोपेर अरु त्यसै फालियो।’
बढी नाफा गर्न खोज्ने ठेक्केदार कम्पनीको प्रवृत्तिका कारण साना–निर्माण कम्पनी (पेटी ठेकेदार) लाई काम जिम्मा लगाउँदा यस्तो समस्या देखिएको स्थानीयको बुझाइ छ। हालसम्म भएको कामको गुणस्त छानबिन गरी यथाशीघ्र बाँकी काम सम्पन्न गर्न उनीहरुले माग गरेका छन्।
जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख कृष्णकुमार मिश्रले सडक निर्माणको जिम्मा लिएको कम्पनी केही समयदेखि सम्पर्कमा नआएको बताए। सडक निर्माणको काम सम्पन्न गर्न समय थपका लागि निवेदन दिएर सम्पर्कमा नआएका कारण काम अघि बढ्न नसकेको उनको भनाइ छ।
सडक निर्माणमा देखिएका कमजोरी ठेकेदार कम्पनीबाट क्षतिपूर्ति भराउने बताउँदै मिश्रले बिग्रिएको ठाउँमा ठेकेदार कम्पनीबाटै मर्मत गराउने जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।