सुर्खेत– जिल्ला क्रिकेट संघ सुर्खेतले क्रिकेट मैदान निर्माणका लागि जग्गा माग गरेको छ। मैदानका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन माग गर्दै संघले शुक्रवार सुर्खेत उपत्यका नगर विकास समितिलाई ज्ञापनपत्र बुझाएको हो।
क्रिकेटप्रति खेलाडीहरुको आकर्षण बढेपनि आफ्नै खेल मैदान नहुँदा खेलाडीहरुलाई प्रशिक्षण दिन समस्या भएको संघका अध्यक्ष श्रीधर केसीले बताए। उनले सुर्खेतमै सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्नका लागि जग्गा माग गरिएको बताए। सरकारले क्रिकेट मैदानको लागि एक एक करोड बजेट विनियोजन गरेपनि सुर्खेतमा मैदान नै नभएको उनले जनाए।
ज्ञापनपत्र बुझ्दै समितिका अध्यक्ष नारायणप्रसाद कोइरालाले अध्ययन गरेर आवश्यक स्थानमा जग्गा उपलव्ध गराउने प्रतिवद्धता जनाए । क्रिकेट मैदानका लागि विगतदेखी नै जग्गा छनौट नगरिएको भन्दै यसका लागि आफूले सक्दो पहल गर्ने कोइरालाको भनाइ थियो ।
यसैबीच सुर्खेत क्रिकेट संघको आयोजनामा हुन लागेको प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताकाका लागि आर्थिक सहयोग जुट्न थालेको छ। संघले आगामी फागुन ७ गतेबाट सुर्खेतमा सञ्चालन गर्न लागेको प्रदेश नम्बर ६ स्तरीय क्रिकेट प्रतियोगिताका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्न थालेका हुन्।
प्रतियोगिताका लागि सुर्खेत क्रिकेट संघका संस्थापक अध्यक्ष पदमबहाखुर खड्काले २५ हजार सहयोग गरेका हुन् । यस्तै, मिडवेस्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले पनि १० हजार सहयोग गरेको संघका अध्यक्ष केसीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।