काठमाडौं- बहुचर्चित सुडान घोटाला काण्डका एक फरार ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शम्भु भारती छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो। यसबारे जानकारी दिँदै सिआइबीका एसपी दीपक रेग्मीले भने, ‘हामीले फरार भारतीलाई पक्राउ गरेका हौं। उहाँलाई सिआइबी कार्यालय ल्याउँदै छौैं।’
उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो। पक्राउ परेका भारतीलाई १ वर्ष कैदको फैसला सुनाइएको छ । भारती सुडान घोटाला काण्डमा दोषी ठहर भएका व्यक्ति हुन्।
भारती ठेकेदार कम्पनीका नेपाली प्रतिनिधि हुन्। सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी समेत दोषी ठहर भएका थिए।
पूर्व आइजिपी हेमबहादुर गुरुङ जेल बसेर २०७४ चैत १८ गते छुटेका थिए। त्यस्तै, पूर्व एआइजी श्यामसिंह थापा २०७४ चैत २५ गते र दीपकसिंह थाङदेन २०७४ चैत २३ गते जेल बसेर छुटिसकेका छन्। उनीहरु तीनै जनालाई सर्वोच्च अदालतले १-१ वर्ष कैद र ४०-४० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समय अघिमात्रै सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए। त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्। उनीहरुलाई ६/६ महिना कैद र ३०/३० हजार रुपैयाँ जरिवानको सजाय भएको थियो।
नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। करिब ४४ करोडको खरिदमा २९ करोड अनियमितता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।