एजेन्सी- झण्डै चार दशकपछि उल्भरह्यामटन युइएफए युरोपा लिगमा छनोट भएको छ। बिहीबार राति भएको प्लेअफको अन्तिम टोरीनोलाई २–१ गोल अन्तरले हराउँदै उल्भरह्यामटनले युरोपा लिगमा स्थान बनाएको हो।
योसँगै समग्रमा ५–३ को जित निकालेर उल्भरह्यामटनले युरोपा लिगमा आफ्नो स्थान पक्का गरेको छ। उल्भरहयामटन सन् १९८० पछि अहिले पहिलो पटक युरोपा लिगमा छनोट भएको छ।
खेलका ३०औं मिनेटमा अडामा ट्रओरेको क्रस पासमा राउल जिमेनेजले गोल गर्दै उल्भरह्यामटनलाई अग्रता दिलाएका थिए।
एन्ड्रिया बेलोटीले टोरीनोका लागि ५७औं मिनेटमा गोल गर्दै १–१ अवस्थामा ल्याएका थिए। लगत्तै त्यसको १ मिनेटपछि उल्भरह्यामटनका लागि लिएंडर डेंडोनेकरले गोल गर्दै २–१ को अवस्थामा ल्याएका थिए। बाँकी समय दुवै टिमबाट गोल हुन नसकेपछि समग्रमा ५–३ को जित निकाल्दै उल्भरह्यामटन युरोपा लिगमा छनोट भएको हो।
जितसँगै उल्भरह्यामटन युरोपा लिगको ड्र मा समावेश भएको छ। उल्भरह्यामट रहेको समूहमा म्यानचेस्टर युनाइटेड, आर्सनल, सेल्टिक र रेञ्जर्स छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।