काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइकले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्। उनले डिफेन्डर अफ दि इयरको उपाधि समेत हात पारेका छन्।
युइएफए वर्ष खेलाडी अवार्डमा पहिलोपटक डिफेन्डरले उपाधि पाएका हुन्। गएको वर्ष लिभरपुललाई च्याम्पियन्स लिग जिताएका भ्यान डाइक पछिल्लो सयममा विश्व फुटबलका उत्कृष्ट डिफेन्डरका रुपमा देखिएका छन्।
प्रिमियर लिगमा गएको सिजनदेखि लगातार ४९ खेलमा उनलाई छलेर कसैले बल कटाउन सकेको थिएन। ५०औँ खेलमा गएको शनिबार आर्सनलका निकोलस पेपेले मात्र उनलाई काटेर बल अगाडि बढाएका थिए। यसले पनि उनको क्षमता डिफेन्समा कति छ भन्ने बुझ्न सकिन्छ।
भ्यान डाइक डिफेन्डरको भूमिकामा मात्र होइन, गोल स्कोररमा पनि राम्रो देखिएका छन्। उनले गएको सिजन लिभरपुलबाट ५० र नेदरल्याण्ड्सबाट ९ गरेर ५९ खेल खेलेका थिए। जसमा उनले ९ गोल पनि गरे। चार गोलका लागि अवसर मिलाएर समेत उनले आफूलाई अब्बल देखाएका थिए।
.jpg)
लिभरपुलका लागि ४ हजार ४ सय ६५ मिनेट मैदानमा रहेका उनले आफू दुई खेलाडीमा बलका लागि संघर्ष हुँदा ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएका छन्।
विश्व फुटबलमा उत्कृष्ट खेलाडीको चयन हुँदा युइएफए वर्ष खेलाडी, फिफा उत्कृष्ट वर्ष खेलाडी, बालोन डिओर जस्ता अवार्डमा गएको दशकदेखि नै मेस्सी र रोनाल्डो छाइरहेका थिए।
युइएफए वर्ष खेलाडीमा यस वर्ष भ्यान डाइक र गएको वर्ष स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिकले अवार्ड जितेपछि मेस्सी र रोनाल्डोको दबादबा कम भएको छ।
२०११ मा लियोनल मेस्सीले जितेको अवार्ड २०१२ मा आन्द्रेस इनिस्टाले जितेका थिए। २०१३ मा फ्रान्क रिबेरी, २०१४ मा क्रिष्टियानो रोनाल्डो, २०१५ मा मेस्सी, २०१६ मा र २०१७ मा रोनाल्डो साथै २०१८ मा लुका मोडरिकले जितेका थिए।
युइएफए वर्ष खेलाडीको अवार्ड जितेपछि अब फिफा उत्कृष्ट खेलाडी र बालोन डि’ओर जस्ता अवार्डमा पनि भ्यान डाइकको प्रभाव बढ्ने फुटबल विश्लेषकहरुले बताइरहेका छन्।
यस्तै, मेस्सीले फरवार्ड अफ दि इएर, फ्रान्की डि योङले मिडफिल्डर अफ दि इएर र एलिसन बेकरले गोलकिपर अफ दि इएरको उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।