काठमाडौँ- उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहति पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।
गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो।
जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले उनलाई सजाय थप गरेको हो।
न्यायाधीशद्धय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको एइजालसले बिहीबार यस्तो फैसला सुनाएको हो।
यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए।
२०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उक्त मुद्दामा सजाय निर्धारणको फैसला सुनाउँदै उच्च अदालतले यस्तो ठहर गरेको हो।
नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौतीबापत ८५ लाख रूपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो।
गुप्तामाथि लागेको अपहरण तथा शरीर बन्धक अभियोगमा काठमाडौँ जिल्ला अदालतले ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो। न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला सुनाएको थियो।
उनी यो अवधि त जेल बसिसकेका छन्।
गुप्तामाथि २६ माघ ०६८ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १७ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो। व्यापारी संघाई ७ पुस ०६८ मा राजधानीको कमलादी मन्दिरनजिकबाट अपहरणमा परेका थिए।
गुप्तालाई कम्तीमा १७ वर्ष कैद माग्दै २६ सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दर्ता गरेको थियो।
नेपाल सद्भावना पार्टी आनन्दीदेवीको अध्यक्ष भएको बेला उनी जेल परेका थिए र सो पार्टीको विवाद सर्वोच्च अदालतमा थियो। आपूर्तिमन्त्री रहेका बेला गुप्ता व्यापारी अपहरण काण्डमा परेका थिए।
यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलो अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो।
त्यही कसुरमा उनीहरूलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो।
सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भएका थिए। उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।