भैरहवा- आफ्नै छोरीलाई हत्या गरी फरार रहेका एक अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
१५ वर्षीया छोरी कान्ती लोनियालाई कर्तव्य हत्या गरेका रुपन्देहीको गैडहवा गाउँपालिका-६ बस्ने ६३ वर्षीय पूर्णवासी लोनियालाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार दिउँसो भैरहवास्थित मालपोत कार्यालयमा जग्गाको कारोबार गर्न आएको समयमा पूर्णवासीलाई प्रहरीले पक्राउ गर्न सफल भएको जानकारी दिएको छ।
लोनियाले २०५४ साल साउन २३ गते आफ्नो छोरी हराएको भन्दै खोजी गर्दै हिँडेका थिए। तर उनको छोरी हराएको नभई उनले नै घरमै हत्या गरी करिब १ किलोमिटर टाढा रहेको घाटमा गाडेको प्रहरीको भनाइ छ।
पछि गाउँका महिलाहरू घाँस काट्न जाँदा २०५४ सालकै भदौ १३ गते खेतमा मानिसको कपालको रौं, चुराहरू, कपडाका टुक्रा तथा हड्डी देखेको प्रहरीले जनाएको छ। साथै खेतमा खनेको माटो र माटोका दुईवटा प्वालबाट मानिसको टाउको देखिएको थियो। घटना बुझ्दा उक्त उखुबारीमा रहेका कपडाको टुक्रा अध्ययन गर्दा पूर्णवासी लोनियाकी १५ वर्षीया छोरी कान्ती लोनियाले लगाउने गरेको पुष्टि भएको थियो।
सो सम्बन्धमा बाबु पूर्णवासीलाई गाउँलले बुझ्न खोज्दा उनी फरार भएका थिए। प्रहरीले शवको टाउको छुट्टिएको, आखाँ नभएको कंकालका रूपमा कान्तीको शव फेला पारेको थियो।
गाउँलेहरूले पूर्णवासी लोनियाले पटकपटक छोरीलाई कुटपीट गरेको हुँदा निजले नै कर्तव्य गरेर मारेको भनी जाहेरी दिएका थिए।
आफ्नै छोरीको हत्या गरी फरार रहेका पूर्णवासीविरुद्ध कर्तव्य ज्यानमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भई मुल्तबीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिइसपी धर्मराज भण्डारीले बताए।
पक्राउ परेको लोनियालाई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत् जिल्ला अदालत रुपन्देहीमा पेस गरिएको डिएसपी भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।