काठमाडौं– सुनसरी जिल्लाकी १८ वर्षीया नेहा (नाम परिवर्तन) घरबाट २०७३ फागुन महिनामा हराइन्। उनको खोजी गर्ने क्रममा २०७५ चैत्रमा मात्र परिवारले सूचना पाए। नेहा भारतको राजस्थान राज्य जयपुर जिल्लाको सुरक्षित आवासगृह महिला सदनमा बस्दै आएको जानकारी प्राप्त भयो।
राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचविखन विरुद्धको विशेष समाधिक्षकको कार्यालयबाट काठमाडौंस्थित शक्ति समूहलाई नेहाको उद्वारका लागि त्यसबेला अनुरोध गरियो। त्यसपश्चात् नेहालाई उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०६९ को नियम २१ को उपनियम २ र उपनियम ३ बमोजिम शक्ति समूहको समन्वयमा तत्काल उद्धार गरी परिवारको जिम्मा लगाइयो।
नेहाजसरी नेपालबाट हराएका थुप्रै युवतीहरु भारतमा पुर्याइने गरेको तथ्य मानव अधिकार आयोगले फेला पारेको छ। नेपालबाट युवतीहरुलाई भारत पुर्याएर विभिन्न अवैध काम लगाउने, यौनदासी बनाउने गरेको पाइएको छ।
रोजगारीको खोजीमा भौंतारिइरहेका युवतीलाई भारतमा रोजगारीको प्रलोभन देखाई मानव तस्करले बेचबिखन गर्ने थुप्रै तथ्य आयोगले फेला पारेको हो।
यसअघि अवैध रुपमा रोजगारीको सिलसिलामा भारत पुर्याइएकी रुपन्देहीकी १६ वर्षिय बालिका नयाँ दिल्लीस्थित प्रयास बाल गृह भेटिएकी थिइन्। आयोगका अनुसार निजको उद्धारका लागि पहल गर्न आयोगलाई अनुरोध प्राप्त भएको थियो।
उद्धारका क्रममा निजको स्पष्ट ठेगाना नखुलेकाले आयोगको मानव बेचविखन विरुद्धको विशेष समाधिक्षकको कार्यालयबाट रुपन्देही प्रहरीलाई टेलिफोनबाट उक्त घटनाको सम्बन्धमा जानकारी गराएको थियो। सोही सिलसिलामा शक्ति समूहको टिम रुपन्देही पुगी प्रहरीको समन्वयमा बालिकाको वास्तविक ठेगाना पत्ता लगाएको थियो।
हाल ती बालिकालाई उद्धमर गरी निजकी आमालाई बुझाइएको आयोगले जनाएको छ।
महिला तथा बालबालिका बेचबिखन ५ प्रतिशतले वृद्धि
मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन– २०७६ अनुसार नेपालबाट ठूलो संख्यामा महिला तथा बालबालिका भारतमा बेचबिखनको जोखिममा छन्। यसमध्ये करिब २६ प्रतिशत प्रभावितहरु (१८ वर्षभन्दा कम उमेरका बालबालिका) अधिकतम यौन शोषणको सिकार हुने गरेका छन्। जसमध्ये अधिकांश व्यक्ति नेपाल तथा बंगलादेशबाट लगिएका र बेचबिखनमा परेको जुलाई २०१८ मा प्रकाशित ग्लोबल रिपोर्ट अन सेक्सुअल एक्सप्लोइटेसनमा उल्लेख छ।
भारतीय सीमा सुरक्षा बलको ५ वर्ष (२०१३ देखि २०१८ फेब्रुअरी) को तथ्यांक विश्लेषणलाई आधार मानी टाइम्स अफ इन्डियाले प्रकाशन गरेको समाचारमा नेपाल भारत महिला र बालबालिकाका बेचबिखन ५ गुणाले वृद्धि भएको बताइएको छ।
उक्त समाचार अनुसार २०१७ मा मात्र ६०७ जनालाई सीमा नाकाबाट नै रोकी घर फर्काइएको थियो। २०१८ को फेब्रुअरीसम्म २८ घटनामा ९४ जनालाई उद्धार गरिएको र ४९ जना बेचबिखनका अपराधीलाई पक्राउ गरिएको बताइएको छ।
भारतीय सीमा सुरक्षा बलले उपलब्ध गराएको केही घटना विवरणका आधारमा भारतमा बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्ने नेपालीहरुलाई उक्त व्यवसायका नाममा लागि जबर्जस्ती श्रम, बँधुवा मजदुरी तथा यौन शोषणमा संलग्न गराएको समेत देखिन्छ।
२०७५ जेठ २६ गते बाँकेको नेपालगन्जमा २ महिला र ४ पुरुषलाई प्रहरीले ठगी धन्दामा पक्राउ गरेको थियो। उनीहरुले भारतीय सेनामा जागिर लगाइदिने प्रलोभनमा नेपालीबाट करिब ३८ लाख संकलन गरेका थिए।
यस्ता घटनाक्रम अनुसार मानव बेचबिखनको जालो झन् फराकिलो हुँदै गएको आयोगले औंल्याएको छ।
प्रमुख कारण खुल्ला सिमाना
भारतमा नेपाली युवतीहरु बेचिनुको प्रमुख कारण नेपाल भारत खुल्ला सीमा रहेको जानकारहरु बताउँछन्।
नेपाल र भारतमा मानव बेचबिखन सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन २०७६ मा पनि खुल्ला सीमाका कारण थुप्रै नेपाली युवती बेचबिखनमा पर्ने गरेको प्रस्ट्याइएको छ।
भारतमा यौन व्यवसायकै कारण नेपाली युवतीहरु बेचिने गरेको पाइएको छ। ग्लोबल स्लेभरी इन्डेक्स (२०१८) का अनुसार भारतमा करिब १ करोड ८३ लाख व्यक्ति आधुनिक दासताको सिकार भइरहेका छन्। यसमध्ये ठूलो संख्या यौन शोषणबाट पीडित व्यक्तिहरु रहेका छन्।
फेला नपरेका महिला तथा बालबालिका बेचिएको आशंका
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याक अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्म हराएका करिब ३८ प्रतिशत मानिसहरु फेला परेका छैनन्। जसमध्ये अधिकांश महिला र बालिकाहरु रहेका छन्।
मानव अधिकार आयोगले हराएका महिला तथा बालबालिका सम्बन्धमा सरोकारवाला निकाय तथा नागरिक संगठनहरुसँग प्रतिक्रिया लिँदा उनीहरु भारतमा बेचिएको आशंका गरिएको छ।
नेपाली गैसरकारी संस्थाहरुले उपब्लध गराएको तथ्यांक प्रतिवेदन अनुसार भारतका विभिन्न स्थानबाट गत आव ०७५/७६ मा करिब १ हजार महिला तथा बालबालिकाको उद्धार गरी स्वदेश फर्काइएको छ।
यी सबै तथ्यांक हेर्दा अझै पनि नेपालको मानव बेचबिखनको प्रमुख सरोकार नेपाल भारत मानव बेचबिखन र यौन बजारमा हुने बेचबिखन नै रहेको पुष्टि गर्दछ।
तेस्रो मुलुकमा अवैध प्रवेशको रुट बन्दै भारत
नेपाल भारत आवगमनको सवाल भारतमा नै बेचबिखनका लागि मात्र नभई तेस्रो मुलुकमा वैदेशिक रोजगारीका लागि जान पनि भारतको मार्ग प्रयोग गर्ने गरिएको देखिन्छ।
नेपाल सरकार, नेपाल प्रहरी र भारतको दिल्ली महिला आयोगको सहकार्य र गैससहरुको समन्वयमा ६ महिनामा गरिएको उद्धार कार्यमा मात्र ३ सयभन्दा बढी व्यक्तिहरु (जसमध्ये अधिकांश महिला रहेका थिए) दिल्लीमा, मनिपुर, मिजोरम लगायतका क्षेत्रहरुबाट म्यान्मार सीमा क्षेत्रबाट उद्धार गरिएका थिए।
ती सबै वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिहरुका माध्यमबाट त्यहाँ पुगेका राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत तथा अनुसन्धानकर्ता यशोदा बन्जाडे बताउँछिन्।
नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति सन्धिले दुई देशबीचको सुरक्षाको सम्बन्धलाई पनि व्याख्या गरेको थियो। यो सम्झौताले भारत नेपालबीचको दुईपक्षीय कारोबार तथा भारतीय सीमाको व्यापार मार्गका लागि प्रयोग जस्ता विषयको पनि उल्लेख गरेको छ।
सोही सम्झौताले नेपालीहरूलाई भारतमा समान आर्थिक तथा शैक्षिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरु स्थापना गर्ने अवसरहरू निर्बाध प्रदान गरेको छ। खुल्ला सिमानाका कारण नेपाली र भारतीयहरू सजिलै दुई देशमा राहदानी र प्रवेशाज्ञा बिना आवतजावत गर्न सक्दछन्।
यो दुवै देशका नागरिकहरुका लागि अवसरयुक्त सहजता भए पनि पर्याप्त र प्रभावकारी सीमा अनुगमनको अभावमा, बेचबिखनमा संलग्न व्यक्तिहरुले उपयोग गर्ने नयाँ शैली र नयाँ अभ्यासहरु, मुख्य नाकाभन्दा सीमा जोडिएका ग्रामीण भेग तथा बस्तीहरुबाट आवागमनका प्रक्रियाहरुले खुला सिमानालाई मानव बेचबिखन जस्तो संगठित अपराधको लागि सहजीकरण गर्ने काम गरेको पाइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत तथा अनुसन्धानकर्ता यशोदा बन्जाडेका अनुसार नेपालमा बेरोजगारी समस्या तथा चेतना अभावका कारण थुप्रै युवती तथा बालबालिका बेचबिखनको सिकार भएको पाइएको छ। उनीहरुलाई भारतमा विभिन्न रोजगारीको प्रलोभनमा ललाइफकाई पुर्याउने गरिन्छ।
‘अनुसन्धानका क्रममा थुप्रै अवोध बालबालिका बेचबिखनमा पर्ने गरेको भेटियो,' उनले भनिन्, 'हामीले नेपाल प्रहरी लगायत अन्य गैरसहकारी संस्थासँग पनि यो विकराल समस्या न्यूनीकरणका लागि सहकार्य गरेका छौं।’ (तस्बिर स्रोत : ucf.edu)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।