काठमाडौं - विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणमा कुवेत र चाइनिज ताइपेइसँग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
नेपालले कुवेतसँग कुवेतमा नै भदौ १९ गते र चाइनिज ताइपेइसँग उसैको मैदानमा भदौ २४ गते खेल्दै छ। जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो।
मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा यसअघिका कप्तान विराज महर्जन परेका छैनन्। कप्तान बिराजको फिटनेसमा समस्या देखिएको बताइएको छ।
साथै गएको सोमबार मलेसियन लिग विजेता क्लब जोहार दारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्दा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि अहिले बाहिरिएका छन्।
मलेसियन क्लबसँगको खेलमा टिममा नरहेका रोहित चन्द र किरण चेम्जोङ भने अहिले टिममा छन्। फरवार्ड भरत खवास पनि टिममा छैनन्। उनी आर्मीको वैदेशिक प्रशिक्षणमा रहेकाले टिममा नपरेको बताइएको छ।
विराज महर्जन
नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १-० ले पराजित भएको थियो।
विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्।
को को छन् टिममा ?
गोलकिपर - किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर - सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल।
मिडफिल्डर - रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई।
फरवार्ड - विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ।
....
विश्वकप छनोटमा कुवेत र चाइनिज ताइपेइसँगको खेलपछि नेपालले असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।
यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।