काठमाडौं - भारतको कोलकातामा भइरहेको यु १५ साफ फुटबलमा नेपालले भुटानलाई ६-० ले हराएको छ। पहिलो हाफमा २ गोल हानेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको हो। जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
राउन्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो। त्यसपछिका तीन खेलमा नेपालले श्रीलंकालाई २-० ले, बंगलादेशलाई ४-१ ले र भुटानलाई ६-० ले हराएको हो।
भुटानविरुद्ध पाँचौँ मिनेटमा नै गोल गर्दै अग्रता बनाएको नेपालले नवौँ मिनेटमा अर्को गोल थपेको थियो। त्यसपछि ४८ औँ मिनेटमा गोल गरेको नेपालले ७५ औँ, ८५ औँ र अन्तिम इन्जुरी समयमा गोल गरेको थियो।
जसमा कप्तान प्रदिप लम्सालले दुई गोलका साथै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक/एक गोल गरेका हुन्।
अब राउन्ड रोविनको अन्तिम खेल भारत र बंगलादेशबीच हुनेछ । जसमा बंगलादेश ४ गोलको अन्तरमा विजयी भएमा फाइनल पुग्नेछ । त्यो भन्दा कम अन्तरको जित, बराबरी वा बंगलादेश हारेमा फाइनलमा नेपाल पुग्नेछ। तीन खेल जितेको भारत यसअघि नै फाइनल पुगेको हो।

यदि फाइनल पुगेर उपाधि जिते यो नेपालको पाँचौँ सस्करणमा पहिलो उपाधि हुनेछ। नेपाल २०१३ र २०१७ मा पनि फाइनल पुगेर पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।