भारत-पाकिस्तानबीच काश्मीर विवाद चर्किइरहेका बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइल 'गजनवी'को परीक्षण गरेको छ।
काश्मीरलाई संविधानले दिएको विशेषाधिकार धारा ३७० खारेजीको मुद्दालाई अन्तराष्ट्रियकरण गरिरहेको पाकिस्तानले यही समयमा मिसाइल परीक्षण गरेको हो। पाकिस्तानी सेनाका प्रवक्ताले सामाजिक सञ्जाल ट्विटरमार्फत यसको पुष्टि गरेका छन्। उनले मिसाइल परीक्षणको भिडियोसमेत सेयर गरेका छन्।
उक्त ट्विटमा गजनवी मिसाइलले २९० किलोमिटरसम्म मार हान्न सक्ने उल्लेख छ। यो मिसाइल अन्य हतियार पनि सँगै लैजान सक्षम रहेको छ। यो जमिनदेखि जमिनमा प्रहार गर्न सकिने मिसाइल हो।
यसको सफल परीक्षणपश्चात राष्ट्रपति र प्रधानमन्त्रीले संलग्न टिमलाई बधाई दिएका छन्।
के हो ब्यालिस्टिक मिसाइल?
ब्यालिस्टिक मिसाइलको आकार ठूलो हुने गर्छ। निकै गह्रुँगो बमसमेत लैजाने यो सक्षम हुन्छ। उक्त बम छोड्नुभन्दा पहिले यो मिसाइल नष्ट हुने प्रविधियुक्त छ। तर एक पटक प्रहार भएको उक्त मिसाइल फेरि नष्ट गर्न भने सहज छैन।
यो मिसाइले आफूलाई आवश्यक हुने इन्धन बोकेर लैजान सक्ने हुन्छ। त्यसमा प्रयोग हुने अक्सिजन पनि साथमै राखिएको हुन्छ।
मिसाइल प्रहारका क्रममा हावामा अर्धचन्द्राकार आकारमा अघि बढेको देख्न सकिन्छ। जब रकेटका साथ यसको सम्पर्क हुन्छ तब त्यसमा राखिएको बम गुरुत्वको प्रभावले जमिनमा खस्दछ। त्यसैले एक पटक प्रहार गरेपछि यसलाई नियन्त्रण गर्न सम्भव छैन।
ब्यालिकस्टिक मिसाइलको प्रयोग आम रुपमा परमाणु बमका लागि प्रयोग गरिन्छ। तर कतिपय अवस्थामा परम्परागत हतियारसँग पनि यसको प्रयोग गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।