काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामी २२ वर्ष पूरा भएका छन्। सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यु गरेका सोमपाल त्यसयता नेपाली टिममा लगातार छन्। सोमपालले अहिलेसम्म ५३ अन्तर्राष्ट्रिय खेल खेल्दै ६३ विकेट लिइसकेका छन्।
सोमपालको नाममा टी–२० क्रिकेटको विश्व रेकर्ड छ। सोमपालले २४ नोभेम्बर २०१४ मा टी–२० क्रिकेटमा दसौं नम्बरमा ब्याटिङ गरेर सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए। सोमपालले यो रेकर्ड हङकङविरुद्धको खेलमा बनाएका थिए। नेपालका अन्य ब्याट्सम्यान सस्तैमा आउट भएपछि दसौं नम्बरमा मैदान प्रवेश गरेका सोमपालले ४० रनको योगदान गरेका थिए। नेपालले ८ विकेट गुमाएर २५ रन जोडेको स्थितमा मैदान प्रवेश गरेका सोमपालले राम्रो ब्याटिङ गरेपछि नेपालले ७२ रनको सम्मानजनक योगफल तयार गरेको थियो। सोमपालले ३१ बलको सामना गर्दा ६ चौक र २ छक्का प्रहार गरेका थिए। हङकङले ८ विकेट गुमाएर १ बल खेल्न बाँकी छँदा लक्ष्य पार गरेकाे थियो।
दसौं नम्बर ब्याटिङ गरेर धेरै रन बटुल्ने खेलाडीको दोस्रो नम्बरमा पाकिस्तानका वाहाब रियाज छन्। रियाज नेपालका सोमपाल भन्दा १६ रनले पछि छन्। गत मार्चमा रियाजले वेस्ट इन्डिजविरुद्धको खेलमा दसौं नम्बरमा ब्याटिङ गरेर २४ रन जोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।