काठमाडौं– मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेस हुँदैछ।
गत बैसाख २७ गते नै राष्ट्रियसभा सचिवालयमा दर्ता भएको सो विधेयक सरोकारवाला र प्रतिपक्षी दलको विरोधका कारण अगाडि बढ्न सकेको छैन। विधेयकको विरोधमा नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका कैयौं संस्थाले विरोध स्वरुप विभिन्न कार्यक्रम गरेका थिए।
महासंघको आन्दोलनका कारण सत्तापक्ष विधेयक सच्याउन तयार भएको थियो। त्यस विषयमा सहमति पनि भइसकेको छ। संशोधनमार्फ विधेयकलाई सहमति अनुरुपको बनाइने छ।
बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेस गर्ने कार्यसूची तय भएको छ। बिहीबारको राष्ट्रियसभाको सम्भावित कार्यसूचीमा बाँस्कोटाले विधेयक पेस गर्ने कार्यसूची पहिलो नम्बरमा छ।
विधेयकमा व्यवस्था गरिएको प्रावधानले काउन्सिलको स्वायत्ततालाई कमजोर बनाउने, पत्रकारलाई आफू खुसी जरिवाना गर्न सक्ने तथा सरकारको छायाँ बन्न सक्ने भन्दै विरोध भएको थियो।
राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।