काठमाडौं - प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्वर्गीय प्रकाश दाहालको स्मृतिमा काठमाडौंमा भदौ २४ देखि २८ सम्म ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी गराएको हो।
सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापना स्थापित प्रगतिशल युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नया उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए। अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहे पनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछ। जुन पुरुष भलिबलमा सर्वा्धिक धनराशि हो। दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ जित्नेछन्।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल जित्नेछन्। उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँ हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए।
प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी गराए।
एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछन्। प्रतियोगिताको अनुमानित खर्च झण्डै ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।