लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ सम्मका लागि संसद् निलम्बनको घोषणा गरेका छन्।
निलम्बनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले बुधबार महारानी एलिजावेथसमक्ष पेस गरेका अधिकारीले जनाएका छन्।
बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ। निलम्बनले आगामी अक्टोबर ३१ भित्र बिना कुनै सम्झौता बेलायत इयूबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुन पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ।
'यो निलम्बन हामीले अक्टोबर १४ सम्मका लागि कायम गर्न लागेका छौँ,' जोनसनले पत्रकारसँग भने। उनले ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गरे।
निलम्बनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ।
तर, निलम्बनको प्रस्ताव विवादमा परेको छ। कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन्। सामान्यतया संसद्को नयाँ सत्र सुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्बन गरिएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।