डडेल्धुरा- डडेल्धुरामा सदरमुकाम खलंगामा बाघजात्रा निकालिएको छ। बुधबार जिल्ला सदरमुकामका स्थानीय बासिन्दाले बाघजात्रा निकालेका हुन्। बाघजात्रा विगत केही वर्षदेखि मनाउन छोडिएको थियो।
परम्परादेखि मनाइदै आएको यो जात्रा पछिल्लो समय लोपको संघारमा पुगेको थियो। जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको हो।
जात्रामा बाघ, राजारानी, आर्मी, शिकारीलगायतको अभिनय गरिएको थियो भने बागजात्रा हेर्ने स्थानीयको भिड लागेको थियो।
तत्कालीन समयमा डडेल्धुरा सदरमुकाम तथा वरपरको बस्तीमा बाघको आतंक हुने र बाघको भयबाट बच्न बाघलाई खोरमा हाल्ने योजना अनुरुप हालको बजार क्षेत्रमा खोर बनाई बाघलाई थुन्ने गरेको सम्झनामा यो जात्रा मनाइदै आएको छ। बाघलाई खोरमा थुनेको ठाउँलाई बागखोर नामाकरण गरिएको ५।
तत्कालीन बडाहाकिमलाई जाहेरी गर्ने र वडाहाकिमले बाघ मार्न आदेश दिने जस्ता प्रसंगलाई समेटेर स्थानीयले रमाईलो बाघजात्रा प्रदर्शन गर्ने गरेको प्रकाश जैरुको भनाई छ।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।