काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी चोटमुक्त हुन अझै केही दिन लाग्ने भएको छ। ला लिगाको दुई खेल गुमाएका उनी शनिबार ओसासुनाविरुद्धको खेलमा पनि नहुने भएका हुन्।
ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १-० ले हारेको बार्सिलोनाले दोस्रो खेलमा रियल बेटिसलाई ५-२ ले हराएको थियो। दुवै खेलमा मेस्सी टिममा सामेल थिएनन्।
मेस्सीको पिडौंलामा लागेको चोट केही दिनमा ठिक हुने भनिए पनि अझै उनी पूर्ण रुपमा ठिक भएका छैनन्। प्रशिक्षक एर्नेस्टो भालभर्देले मेस्सीलाई खेलाउन हतार गर्न नहुने बताएका छन्। सेप्टेम्बर १५ मा भ्यालेनसियासँगको खेलमा भने उनी मैदान फर्कने विश्वास गरिएको छ। उनी सामान्य अभ्यासमा सामेल भइरहे पनि पूर्ण रुपमा फिट नभएका हुन्।
कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका बार्सिलोना स्टार लियोनल मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।