काठमाडौं- 'यो अपांग भयो। अब गरिखान सक्दैन। हातपाउ टेकेर हिँड्ने मान्छेले के गरिखाला र? बरु कुनै आश्रममा राख्न पाए यसको उद्धार हुन्थ्यो।'
बाल्यकालमा मिङ्मा शेर्पालाई यी डरलाग्दा वचनहरूले झस्काउँथे।
आफ्नै परिवारका सदस्य र नजिकका आफन्तहरुले उनीप्रति राख्ने सहानुभूति यस्तै हुन्थ्यो। तर, त्यही सहानुभूति मिङ्माका लागि तीर बनेर मुटुसम्म पुग्थ्यो। सायद उनी त्यो घोचाइको पीडा मापन गर्न सक्दैनथे।
सोलुखुम्बुको दुर्गम ठाउँमा मिङ्माको जन्म भयो। दुर्गममा जन्मनु नै आफ्नो 'दुर्भाग्य' ठान्थे उनी। 'सानामा अरु साथीभाइ खेल्थे, खेलेको देखेपछि खेल्ने रहर लाग्थ्यो। तर, म उनीहरू जस्तो खेल्न सक्दिनँ थिए,' उनी बाल्यकालतिर फर्कन्छन्।
उनको स्मृतिमा पनि बाल्यकाल कहिल्यै सुखद् रहेन।
दुई वर्षको हुँदा मिङ्माका दुवै खुट्टा पोलियोको सिकार भए। २०३० सालको कुरा। त्यतिबेला अस्पताल गाउँबाट निकै टाढा थिए। उसो त उपचार गर्नुपर्छ भन्ने चेतना बा–आमामा थिएन। उनलाई धामी झाँक्रीकहाँ लगेर झारफुक गरियो।
तर, निको भएन।
जब उनी हिँड्न सक्ने उमेरमा पुगे। उनलाई दुवै खुट्टाले साथ दिएनन्। हातखुट्टा टेकेर घस्रनु पर्ने बाध्यता बन्यो। आफू पोलियोको सिकार भएको मिङ्माले बुझ्ने भएपछि चाल पाए। तर त्यतिन्जेल उनले स्कुल गएर पढ्ने अवसर गुमाइसकेका थिए।
यद्यपि, अध्ययनको भोक भने बाँकी थियो। घरमै बाले अक्षर चिनाए। अक्षर चिनेपछि भने स्वध्ययन गर्न थाले।
उनले सहानुभूति दिनेहरूको विभिन्न रुप देख्थे।
'यो पुनर्जन्मको पाप हो। बाआमा बूढा भएपछि यसको भविष्य के होला?'
यस्ता टिप्पणीले उनलाई बिझाएन मात्र। सानैमा एउटा इख पनि पलायो। 'उनीहरूले यसो भन्दा मलाई इख जाग्यो। म पनि केही गरेर देखाउँछु भन्ने सोच पलायो,' मिङ्माले भने।
अप्ठेरो काठमाडौं
घस्रेरै बाल्यकाल बिताएका मिङ्माले सोलुखुम्बु छाड्ने सोच बनाए। तर, सोचेजस्तो सहज थिएन। राजधानीप्रति उनको आशा थियो।
काठमाडौंमा एक जना दाइको गलैंचा कारखाना थियो। मिङ्माले दाइलाई सोलुखुम्बुबाट आफू काठमाडौंमा आएर गलैंचामा काम गर्न सक्ने भन्दै पत्र पठाएका थिए। दाइले पत्रको जवाफ पठाए। दाइले स्विकृति जनाएपछि उनी काठमाडौं आए।
२०४६ सालको जनआन्दोलन भर्खरै साम्य भएको थियो। काठमाडौं आउन बाआमाले उनलाई सहयोग गरे। काठमाडौंमा भएका साथीभाइले पनि उनलाई आड दिए।
यता आएपछि मिङ्मा गलैंचा कार्पेटको काम गर्न थाले। काम थियो– गलैंचा कटिङ गर्नु।
काठमाडौंमा उनको सुरुवातको बसाइ थियो जोरपाटी। भाडाको कोठामा उनी साथीहरूसँग बस्थे। खाना पकाउन सक्दैन थिए। कि घस्रेर हिँड्नुपर्दथ्यो, कि ह्विलचेयरमा।
खाना नपाक्दा उनी कति दिन भोकै बसेका छन्। पानीमात्र खाएर पेट भरेको पीडा उनको मस्तिष्कमा ताजा छ। हातमा चप्पल लगाएर बामे सरेर ट्वाइलेट जानुपर्ने स्थिति थियो।
उनले सोचेको सपनाको सहर भोगाइमा निकै अप्ठेरो थियो। काठमाडौंमा उनले 'छिछि: र दुरदुर' भोगे। सहानुभूतिका नाममा हतोत्साहित बनाउने मानिसहरू भोगे।
तर, उनी कहिल्यै निराश भएनन्। केही गर्न सक्छु भन्ने उनको सपना कहिल्यै ओइलाएन।
काठमाडौंमा उनी ह्विलचेयर आवतजावत गर्थे। एकपल्ट कोठा सर्नुपर्ने भयो। घरबेटीले फोहर हुन्छ भनेर कोठा दिएनन्।
उनी पुराना दिनका घटनातर्फ फर्कन्छन्, 'कोठामा बस्दा एक जना दिदीको बच्चा थियो। एक दिन उनको बच्चाले ह्विलचेयर छुन आयो। ती दिदीले त्यस दिन मलाई मनै कुँडिने गरी भनिन्– बाबु त्यो नचलाऊ। फेरि अंकलको जस्तै पोलियो भएर तिम्रो खुट्टा पनि त्यस्तै हुन्छ।'
घटना सुनाइरहँदा मिङ्मा गम्भीर देखिए।
भिडियो-
उनी लगत्तै अर्को घटना सम्झन्छन्। जसले उनलाई निकै दिनसम्म बिझाएको थियो। एक दिन साथीसँग मिङ्मा सामान किन्न पसल गएका थिए। दुवै ह्विलचेयरमा थिए।
जब उनीहरू पसलनिर गएर अडिए। पसलका साहुले उनीहरूलाई ५/५ रुपैयाँ फालिदिए। दुवैको मन चसक्क बिझायो। उनीहरूले नम्र आवाजमा प्रतिकार गर्दै भने, 'दाइ हामीसँग त पैसा छ। हामी मगन्ते होइनौं। हामी केही किन्न आएका हौं। तपाईंको पैसा तपाईंसँगै राख्नुस्।'
यस्ता धेरै भोगाइ खेपेका छन्, मिङ्माले। यसरी दुःखद् परिस्थितिको सामना गर्नुपर्दा उनलाई सधैं लागिरहन्थ्यो– अप्ठेरो छ काठमाडौं।
फेरिएको जीवन
काठमाडौंको सडकमा एक दिन उनी घस्रँदै हिँडेका थिए। उनको हालत देखेर एक विदेशीको मन पग्लेछ। पछि तिनै विदेशीको पहलमा मिङ्माको दुवै खुट्टाको शल्यक्रिया भयो। सात वर्षयता भने उनले नयाँ जीवनको अनुभव गरिरहेका छन्।
खुट्टाको शल्यक्रियापछि भने उनको जीवन सहज बन्यो। खुट्टामा 'आर्टिफिसियल लेग' राखिएको थियो। उनलाई कर्सेसद्वारा घरभित्र र बाहिर गर्न अहिले सहज भएको छ।
सात वर्षअघिसम्म मिङ्माको जुन हालत थियो, त्यो बिलकुल परिवर्तन भएको छ। कुनै समय 'अशक्त' भन्नेहरूलाई नै मिङ्माले सहायता दिन्छन् अहिले।
खुट्टाको शल्यक्रियापछि उनले चारपांग्रे स्कुटर किने। त्यही स्कुटर उनको सहारा छ। उसो त उनी पनि धेरैको सहारा बनेका छन् अहिले।
गाउँका मान्छे काठमाडौं आउँदा बस स्टपसम्म लिन र पुर्याउन आफैं जान्छन् मिङ्मा।
'एकपल्ट एक जना दाइ बिरामी हुनुभयो। उहाँले फोन गरेर मलाई अस्पताल पुर्याइदिनु भन्नुभयो। मैले अस्पताल पुर्याएर टिकट काटिदिने काम गरेँ। उहाँ धेरै खुसी हुनुभयो,' उनले भने, 'पछि उनैले तिमीले जे चाहे पनि गर्न सक्दो रहेछौ भन्दा निकै खुसी लाग्यो।'
गाउँका आफन्त कुनै काम लिएर काठमाडौं आए भने सबैभन्दा पहिले सम्झिइने मिङ्मा नै हुन्।
बौद्धमा एसिन लिंगुइस्टिक डिपार्टमेन्ट (सिल नेपाल) नामक एउटा संस्था छ। जहाँ उनी दुई वर्षअघिदेखि भाषा अनुवादको कामसमेत गर्छन्। 'स्कुल नगए पनि मैले पढ्न छाडेको छैन। अहिले भाषाको काम गरिरहेको छु,' उनी भन्छन्।
यात्रुलाई सेवा
एउटै कामले घर धान्न सहज नहुने स्थिति भयो। मिङ्माले विकल्प खोजे।
एक जना साथीले आफू पठाओमा काम गर्ने बताए। त्यसपछि मिङ्माले पठाओबारे बुझे। साथीकै सहायतामा उनले पनि पठाओमा आफ्नो स्कुटी दर्ता गराए। अहिले उनी यात्रुहरूलाई पठाओको सेवा दिन थालेका छन्।

पठाओमा मिङ्मा आबद्ध भएको ४ महिना भयो।
'दिनमा २/३ घन्टा खट्दा ७ सयजति कमाइ हुँदो रहेछ,' उनी सुनाउँछन्, 'यति भयो भने तेल खर्च जोगिन्छ। बच्चालाई स्कुलको खर्च पुर्याउन सहज हुछ।'
उनी पठाओ सेवा दिँदाको केही समयअघिको एउटा घटना सम्झन्छन्।
मोबाइलमा एक जना सेवाग्राहीको रिक्वेस्ट आयो। उनी लिन गए।
तर, रिक्वेस्ट पठाउने मिङ्मालाई देखेपछि झस्किएछन्। 'जब उनले मलाई देखेपछि 'अर्कै मान्छे बोलाइसकेको छु, रिक्वेस्ट क्यान्सिल गरौं' भने। अशक्तले चलायो भने आफैंलाई पनि अशक्त पार्ला भन्ने कतिपयको डर हुँदो रहेछ। तर, त्यस्तो हुँदैन। मैले त्यस बेलामा त्यही बुँझे,' उनी सुनाउँछन्।
जति सेवाग्राहीलाई उनले गन्तव्यमा पुर्याए उनीहरू निकै खुसी भएको उनको अनुभव छ। 'कतिपय त साथी जस्तै पनि भए। मेरो काम देखेर खुसी हुने धेरै छन्,' मिङ्मा भन्छन्।
प्रेमले दिएको आँट
मिङ्मा त्यसबेला ह्विलचेयरमै हिँड्थे। एकदिन पसल जाने क्रममा उनको भेट सविना शेर्पासँग भयो। सविनाको आफ्नै पसल थियो। उनी प्रायः पसलमा भेटिन्थिन्।
हरेक दिन भेट्दै गएपछि मिङ्मालाई सविना मन पर्न थाल्यो। देखादेख भइरहने सविनासँग मिङ्माको बोलचाल सुरु भयो।
कुराकानी गर्दागर्दै दुवैजना नजिकिए। मिङ्माले सविनालाई 'प्रपोज' गर्न सकिरहेका थिएनन्। 'उनी निकै राम्री र फूर्तिली लाग्थिन्। म जस्तो अशक्तले कसरी उनलाई प्रपोज गर्ने भन्ने लाग्थ्यो,' मिङ्मा सुनाउँछन्।
एकदिन उनले त्यो आँट गरिछाडे, 'मलाई तिमी मन पर्छ। तर, तिमी मलाई पत्याउँदैनौ होला…'
खुसीको कुरा त सविना पनि मिङ्मालाई प्रेम गर्दी रहिछन्। उनले सहजै स्विकारिन् मिङ्माको प्रस्ताव।
दुवैको बिहे गर्ने कुरा भयो।
तर, आफन्तबाट विरोध आए। 'छोरीले अशक्त श्रीमानसँग बिहे गर्यो भने जीवन कसरी चल्छ?' भन्दै आफन्तले विरोध गरे। दुवैको माया बसेपछि कसको के लाग्छ? सविनाले आफ्नो जिद्दी छाडिनन्।
'मेरो आत्मबल देखेर सविनाले मलाई स्वीकार गरेकी थिइन्,' उनले भने।
यसरी मिङ्माले काठमाडौंमै प्रेम विवाह गरे। त्यसपछिको सम्बन्ध आजसम्म प्रगाढ छ।
सविना अहिले विदेशमा छिन्। मिङ्माको साथमा छोरा छन्। आफू बाबु हुनुको कर्तव्य समेत उनी निर्वाह गरिरहेका छन्।
संघर्षले नै आफूलाई बाँच्न सिकाएको उनको ठम्याइ छ। मिङ्मा सधैं अगाडिका बाटाहरू सोच्छन्। जीवनमा आउने बाँकी आरोह अवरोहसँग जुध्न तयार छन्। हिजोका दिनमा सहानुभूति दर्शाउनेहरूलाई उनले पाठ सिकाएका छन्।
भन्छन्, 'केही गर्दैन भन्नेहरू नै आज बेरोजगार छन्। हेर्नुस् त, म आफ्नै खुट्टामा पो उभिएको छु।'
यति नभन्दै बसिरहेको कुर्सीबाट उनी जुरुक्क उठ्ने प्रयास गर्छन्।
फोटो/भिडियो : सौरभ रानाभाट/नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।