ढाका- बंगलादेशमा विवाह दर्ता प्रमाणपत्रको फारम भर्दा महिलाले आफ्नो कुमारित्व (भिर्जिनिटी)का बारेमा उल्लेख गर्न नपर्ने भएको छ। ढाकास्थित उच्च अदालतले सो आदेश गरेको हो।
आइतबार दिइएको अदालतको आदेशमा विवाह दर्ता प्रमाणपत्रको फारममा भर्जिन को स्थानमा अनम्यारिड (अविवाहित) शब्द राख्न भनिएको छ। तर, यसमा भएका अन्य दुई वटा विकल्पहरु विडो (विधवा) र डाइभोर्स्ड (सम्बन्ध विच्छेद) लाई पनि परिवर्तन गरिएको छैन।
आफ्नो कुमारित्व खुलाउन उचित नरहेको भन्दै लगातार विरोधमा रहेका महिला अधिकारवादी संघसंस्थाहरुले अदालतको फैसलाको स्वागत गरेका छन्।
यसबाहेक दुलाहा वा पुरुषले पनि आफ्नो वैवाहिक अवस्थाबारे खुलाउनुपर्ने भएको छ। इस्लाम बाहुल्य राष्ट्र बंगलादेशमा विवाहसम्बन्धी कानुनमा महिलामाथि प्रतिबन्धात्मक र भेदभावपूर्ण रुपमा व्यवस्था गरिएको भन्दै आलोचना हुँदै आएको छ।
यहाँ सानो उमेरमै किशोरीहरुलाई विवाहका लागि दबाब दिने गरिन्छ।

अदालतले विवाह दर्ता प्रमाणपत्रको फारम उल्लेख भएको बंगाली शब्द कुमारी हटाइएको जनाएको छ। यसको सट्टा अविवाहित शब्द प्रयोग गर्ने जसले महिलालाई स्वतः कुमारी रहेको जनाउने फैसलामा भनिएको छ।
यस्तो व्यवस्थाले महिलाहरुलाई अपमानित गर्ने र उनीहरुको वैयक्तिक स्वतन्त्रतामा खलल पुग्ने भन्दै सन् २०१४ मा दायर मुद्दामा अदालतले फैसला सुनाएको हो।
यसका अलावा पुरुषहरुका लागि पनि अविवाहित, सम्मन्ध विच्छेद भए/नभएको वा श्रीमतीको मृत्यु भए/नभएको अवस्था स्पष्ट गर्नुपर्ने भएको छ। अदालतको पूर्ण फैसला आइसकेपछि यस व्यवस्था लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।