काठमाडौं- यु १५ साफ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४-१ ले पराजित गर्दै शानदार जित हासिल गरेको छ। जसले नेपालको फाइनल पुग्ने सम्भावना देखिएको छ।
पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो।
बंगलादेशलाई हराएसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालभन्दा अघि भारत रहेको छ। बंगलादेश र नेपालको ६-६ अंक भए पनि हेड टु हेडका आधारमा नेपाल अगाडि रहेको हो।
बंगलादेशलाई हराउँदा नेपालका कृष्ण यादवले दुई साथै सुगन जिमी र प्रदीप लम्सालले १-१ गोल गरे। पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। ५२ औं मिनेटमा सुगनले दोस्रो गोल गरेका थिए।
८१ औँ मिनेटमा प्रदीपले अर्को गोल गरेका थिए। यस्तै खेलको दुई मिनेट समय बाँकी हुँदा कृष्णले चौथो गोल गरेका थिए। बंगलादेशले खेलको ७९ औँ मिनेटमा एक गोल गरेको हो।
नेपालले अन्तिम खेलमा बिहीबार भुटानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।