काठमाडौं - स्पेनिस क्लब रियल मड्रिड ला लिगाको नयाँ सिजन बलियो बन्ने अनुमान दुई खेल हेर्दा कम्तिमा मैदानमा भने देखिन सकेको छैन। प्रि-सिजनका खेललाई हेर्ने हो भने पनि गएको सिजन डुब्न लागेको मड्रिडमा फर्किएका प्रशिक्षक जिनेदिने जिदानसँग आश गर्ने ठाउँ घटिरहेको छ।
ला लिगाको पहिलो खेलमा सेल्टाभिगोलाई ३-१ ले हराएको खेलमा करिम बेन्जेमा, टोनी क्रुस र लुकास भासक्वेज गोलमा चलेका थिए। जसबाट पहिलो खेलमा ३ अंक बटुलेको मड्रिड गएको शनिबार घरेलु मैदानमै भने कमजोर देखियो। भायाडोलिडसँगको खेलमा १-१ को बराबरी भयो। ८२ औँ मिनेटमा बेन्जेमाकै गोलबाट अग्रता बनाएको मड्रिड त्यसको ६ मिनेटपछि नै बराबरीमा पुग्यो।
रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएर हिँडेका प्रशिक्षक जिनेदिने जिदान सिजनको ११ खेल बाँकी हुँदा पुनः क्लब भित्रिएका थिए। बाँकी खेलमा गएको सिजन नै राम्रो गर्न नसकेका जिदानका लागि नयाँ सिजनमा पर्ख र हेरको अवस्था थियो। तर गएको मार्चमा वर्षकै तेस्रो प्रशिक्षकका रुपमा मड्रिड फर्किएका जिदानको क्षमता कमजोर भएको हो या टिममा हुनुपर्ने तालमेल अझै मिल्न नसकेको हो भन्नेमा प्रश्न उठिरहेको छ।
मड्रिड गएको सिजन निकै तनावमा रह्यो। लगातार प्रशिक्षक परिवर्तन र खराब हारको निरन्तरताले आजित बनेको मड्रिडले सबै प्रतियोगिता गुमायो। यसैले मड्रिडले नयाँ सिजनका लागि महत्वपूर्ण परिवर्तन गर्न खोजेको थियो। तर अहिलेसम्मका खेल हेर्दा पुरानो अवस्थामा राम्रो सुधार भइसकेको देखिँदैन।
प्रि सिजनकै तयारी खेलमा पनि बायर्न म्युनिखसँग ३-१ ले हारेको रियल मड्रिडले आर्सनलाई टाइब्रेकरमा ३-२ ले हराएको थियो। दुवै खेलमा नमिलेको तालमेल एथ्लेटिको मड्रिडविरुद्ध त ध्वस्त नै देखियो। एथ्लेटिकोले ७-३ ले हराएपछि मड्रिड व्यवस्थापनमाथि पनि प्रश्न उठिरहेको थियो। पछिल्लो भायाडोलिडसँगको खेलमा बराबरी हुनुले त त्यो प्रश्न अझ बढेको छ।

टिममा जेम्स रोड्रिग्वेज र नयाँ सिजनमा निकाल्न खोजिएका खेलाडी ग्यारेथ बेलको वापसीले केही नौलो हुने देखिए पनि मड्रिड समर्थकहरु विश्वस्त हुन सकेका छैनन्। भिनिसियस जुनियरको स्थानमा नयाँ खेलाडीको राम्रो प्रयोग गर्न जिदान चुकिरहेका छन्। अन्तिम समयमा लिइसकेको अग्रता पनि जोगाउन नसक्दा त्यो अविश्वास थप जटिल बनेको छ।
विशेषतः मड्रिड ब्यवस्थापनले प्रशिक्षक जिदानलाई नयाँ खेलाडी ल्याउनेदेखि भएका खेलाडी मिलाउने पूर्ण छुट दिँदादिँदै पनि तालमेल मिल्न नसक्नु कुनै समय युरोपमा एकछत्र राज गरेको क्लबको लागि दुःखद हो।
केही भन्नुपर्दा जिदान छोटो वाक्यमा ठाडो आदेशमा भनिरहेका हुन्छन्। एक त उनलाई अप्ठ्यारो लाग्ने स्पेनिस भाषा अर्को र बोल्दा उनको ‘ब्लाक एण्ड ह्वाइट’ शैली। प्रि सिजनको खेल चलिरहँदा ग्यारेथ बेल अब टिममा रहँदैनन् भन्ने उनको अभिव्यक्ति पनि त्यही शैलीमा आएको थियो। जुन गलत सावित भयो।
आफ्नो प्रशिक्षण टिम र घरमा फ्रेन्चमा नै बोल्ने जिदानको स्पेनिस सुधार हुनुको सट्टा अझ खराब भइरहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। जसले टिममा उनको भूमिकामा पनि असर परिरहेको छ।
भायाडोलिडसँगको खराब खेलपछि पनि जिदानले भनेका छन्, ‘यसले एकदमै खराब स्वाद दिएको छ। हामीले खेलमा सबैभन्दा गाह्रो हुने गोल गर्यौं तर त्यो पनि धेरैबेर रहन सकेन जुन राम्रो कुरा होइन।’
‘पहिलो हाफमा राम्रो खेले पनि हामीले गोल गर्न नसकेको हो। तर बलमा नियन्त्रण गुम्दै पनि गयो। हामी यस्तो खेलले त कहीँ पनि पुग्दैनौँ, त्यसमा सुधार गर्नुको विकल्प छैन’ उनले अघि भनेका छन्।

जिदान आफैले टिमको खेल हुनुपर्ने जस्तो नभएको स्वीकार गरे पनि समस्या उनले देखेको भन्दा बढी छ। त्यो बुझेर नै मड्रिड ब्यवस्थापन फ्रेन्च क्लब पिएसजीबाट स्टार खेलाडी नेमार भित्र्याउन लागिपरिरहेको छ।
बेन्चमा रहेका अवसर
६ महिनामा ट्रान्सफरका लागि तीन सय मिलियन युरो खर्च तर पनि टिममा नयाँ अवसर नदेखिनु मड्रिडका लागि नौलो भइरहेको छ। यदि क्रिष्टियानो रोनाल्डोको ठाउँमा इडन हाजार्डलाई राखेर हेर्ने हो भने मड्रिड टिममा अझै पनि नयाँ खेलाडीको अवसर खास देखिँदैन।
हाजार्डबाहेक अरु नयाँ ल्याइएका खेलाडीले त सुरुवाती ११ मा खेल्न पाउने नपाउने पनि दुविधा अझै देखिन्छ। यसले टिममा सकारात्मक धारणाको सञ्चार भएको छैन। मिडफिल्डमा टोनी क्रुस र लुका मोडरिका साथै डिफेन्समा ड्यानी कार्भाजल, सर्जियो रामोस, मार्सेलो या त राफेल भारान जिदान यिनैको वरिपरि छन् ।
भायाडोलिसँगको खेलमा पनि प्रशिक्षक जिदानले ‘बल त्यता होइन यता’ भन्दै बाहिरबाट कराइरहेको स्पस्ट सुनिन्थ्यो। खेलाडीको भूमिका के हुने भन्नेमा प्रस्ट हुन नसकेका उनी मैदानमा नमिलेको तालमेलले आजित देखिन्थे।
भिनिसियस, एसेन्सियो, सेबालस, अल्भारो, लुनिन, रोड्रिगो, भ्यालेजो, हर्नान्डेज जस्ता युवा खेलाडी ल्याएर नयाँ बन्न खोजेको मड्रिडको प्लेइङ सेट हेर्ने हो भने २०१४ को भन्दा फरक केही लाग्दैन।

नफेरिएको शैली
जिदान अहिले पनि आफ्नो उही ४-४-२ को शैलीमा बढी विश्वास गरिरहेका छन्। त्यसमा अट्याकमा प्रमुख दुई खेलाडी को हुने भन्नेमा भने उनी विश्वस्त छैनन्। जिदानले ४-४-२ को शैली अपनाउन खोजे पनि जिदानको पहिलो रोजाइँका खेलाडी भने ४-४-३ को शैलीमा देखिइरहेका हुन्छन्।
नयाँ खेलाडीसँग पुरानो तालमेल मिलाउन नसक्दा मैदानमा उनको योजना प्रस्ट भइरहेको छैन। भायाडोलिड विरुद्धको खेलमा त तालमेल अझ बिग्रिएको थियो।
त्यसमा खेलाडीमा तीब्रताको र खेलप्रतिको एकाग्रताको अभाव देखिएको थियो। जुन गएको सिजनमा रायो भालेकानो, रियल सोसिडाड र रियल बेटिससँग हारेको भन्दा भिन्न थिएन।
कमजोर मनोबल
मड्रिड पहिलो रोजाइँका खेलाडीहरुमा खेलमा पहिले गोल खाँदा मनोबल कमजोर हुने समस्या देखिएको छ। प्रि सिजनका खेलहरुमा पनि पहिले नै पछि परेको अवस्थामा खेलाडीहरु हच्चिएका देखिन्थे।
गएको सिजन प्रशिक्षक सान्टियागो सोलारीले सुरुवाती ११ मा मार्कस लोरेन्टे, सर्जियो रेगुलियन, भिनिसियस जुनियर जस्ता खेलााडीलाई अवसर दिएका थिए। जिदानको वापसीपछि उनले युवा खेलाडीलाई बेञ्चमा राखेर क्रुस, मोडरिक र इस्को जस्ता सिनियर खेलाडीलाई नै विश्वास गरे।

जिदानले गएको सिजन पुराना खेलाडीलाई नै खेलाउनुमा सिजनपछिको बिक्रीमा सहज होस् भन्ने धारणा रहेको धेरैले बताएका थिए। तर नयाँ सिजनमा जिदानको योजना त्यही वरपर देखिएपछि उनको विश्वास पुराना खेलाडीप्रति नै बढी रहेको देखिन्छ ।
खासमा खेल जित्नका लागि राम्रो खेलेर भन्दा पनि महत्वपूर्ण समयमा सही निर्णय गर्न सक्ने क्षमता प्रबल रहन्छ। त्यसमा डिफेन्स होस् या अट्याक मड्रिड चुकिरहेको छ।
जित्नैपर्छ भन्ने ध्यानको अभावले तालमेल समेत विग्रिएको देखिन्छ। प्रि सिजनकै तयारीको खेललाई हेर्ने हो भने पनि मड्रिडले तीन खेलमा खाएको १२ गोलमध्ये ८ गोल त पहिलो हाफमा नै थियो। त्यसले उनीहरुको दोस्रो हाफसमेत राम्रो हुन सकेको थिएन। ला लिगामा भायाडोलिडसँग अन्तिममा समेत अग्रता जोगाउन नसक्दा देखिएको कमजोरी पनि त्यही थियो।
घाइते खेलाडी र नमिलेको तालमेल
नयाँ सिजनमा महत्वपूर्ण मानिएका खेलाडी इडन हाजार्डसमेत घाइते रहँदा टिमको जिम्मेवारी भिनिसियसमाथि बढीरहेको थियो। तर त्यसमा जिदानको प्रयोग स्पष्ट देखिँदैन।
रियल मड्रिड गएको सिजन विभिन्न ४३ इन्जुरीले समस्यामा परेको थियो। यसरी हेर्दा एक हप्तामा एक खेलाडी घाइते रहने देखिन्छ। अहिलेको सिजनमा पनि मड्रिड टिममा उही अवस्था दोहोरिरहेको छ।
मड्रिड टिममा अहिले फिटनेस प्रशिक्षक र फिजियो परिवर्तन गरिए पनि खेलाडी घाइते हुने समस्यामा सुधार भएको छैन। प्रि सिजनमा नै डियाज, फर्लान्ड मेन्डी, मार्को एसेन्सियो र लुका जोभिक घाइते भएका थिए।
.jpg)
यीसँगै नयाँ सिजनमा मड्रिड टिमले विश्वस्तरीय नयाँ खेलाडीलाई ल्याउने समर्थकको आशा पनि पूरा भएको छैन। त्यसमा हाजार्ड मात्रै एक्ला देखिन्छन्। २००९ मा फ्लोरेन्टिनो पेरेजले जसरी क्रिष्टियानो रोनाल्डो, जाभी एलन्सो, काका र करिम बेन्जेमालाई ल्याएका थिए त्यही शैलीमा मड्रिड अगाडि बढ्ने आश पूरा नहुने देखिएको छ।
सञ्चार माध्यमसँगको कुराकानी र पत्रकार सम्मेलनमा नै पनि जिदान प्रस्ट देखिँदैनन्। अवस्था जस्तो आए पनि उनी टिमप्रति विश्वस्त छन्। खेलमा सुधार हुनुुपर्छ भन्ने बताइरहे पनि उनी टिममा परिवर्तन गर्ने सोचमा भने देखिँदैनन्।
मड्रिड टिममा कमजोर बनेको गोलको अवसर मात्र देखिने गरे पनि मिडफिल्डमा जुन तालमेल पहिले हुन्थ्यो त्यो अहिले छैन। क्यासेमिरोको स्थानमा रहेका मार्कस लोरेन्टे बेचिसकिएको छ। क्रुस र मोडरिकको स्थानमा हुन सक्ने डानी सेबालस लोनमा गएका छन् जसले गर्दा फेड भालभर्देले धेरै समय पाइरहेका छन्।
मिडफिल्डमा पछिल्लो समय क्रुस, क्यासेमिरो र लुका मोडरिक साथै कहिलेकाहीँ इस्कोको भूमिका तीब्रतामा आधारित छैन। त्यसले खेलको ‘पेस’ घट्नुका साथै शक्ति कमवोर बनिरहेको देखिन्छ। जसले उनीहरुको खेल अनुमान गर्न मिल्ने खालको हुन्छ।
रियल मड्रिडले अब आइतबार राति भिलारियलसँग खेल्नेछ। त्यसपछि लेभान्टे, सेभिया, ओसासुना र एथ्लेटिको मड्रिडसँगको खेलसम्म ला लिगाको अवस्था र रियल मड्रिडको स्थिति थप प्रस्ट हुनेछ। त्यतिञ्जेल देखिन सक्ने जिदानको केही नयाँ योजना ल्याउँछन् या मड्रिडले सेप्टेम्बर २ भित्रमा अझ नयाँ खेलाडी थप्छ त्यसले केही परिवर्तन देखिन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।