काठमाडौँ- विकसित ७ देशहरुको समूह जी-७ ले अमेजन जंगलमा लागेको आगो निभाउन दिने प्रस्ताव गरेको साहायता लिन ब्राजिल सरकारले अस्वीकार गरेको छ।
जी-७ समूहको सम्मेलन आयोजना गरेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले ब्राजिलको विशाल जंगल अमेजनमा लागेको आगो निभाउन जी-७ ले २२ मिलियन अमेरिकी डलर छुट्याउन बताएका थिए।
तर, ब्राजिलका मन्त्रीले उक्त रकम नचाहिने बताउँदै विदेशी शक्तिले अमेजन जंगल नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटाली, बेलायत र क्यानडा रहेको जी-७ को सम्मेलन सोमबार सकिएको थियो।
आर्थिक सहयोग गर्ने जी-७ को प्रस्तावप्रति प्रतिक्रिया जनाउँदै ब्राजिलका राष्ट्रपतिका मुख्य सल्लाहाकार ओनेक्स लोरेन्जोनीले भने, ‘प्रस्तावप्रति धन्यवाद तर यो स्रोत युरोपमा वृक्षरोपण गर्न सान्दर्भिक हुन्छ।’
आफ्नै देशको गिर्जाघर (चर्च)मा हुने आगलागी रोक्न नसकेको तर आफूहरूलाई पाठ पढाउन खोजेको भन्दै उनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनको आलोचना गरे।
‘विश्वको सम्पदा रहेका रुपमा रहेको गिर्जाघर(चर्च)मा आगलागी समेत रोक्न नसक्ने म्याक्रोन हाम्रो देशलाई पाठ सिकाउन चाहान्छन्,’ उनले भने।
पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्ने अमेजन जंगलमा विगत केही हप्तादेखि आगो लागिरहेको छ।
आगलागीका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ भने सयौं जनावरको मृत्यु भएको छ।
आगो नियन्त्रण गर्न ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले केही कदम नचालेको भन्दै विशेषगरी युरोपेली राष्ट्रका नेताले आलोचना गरिरहेका छन्।
अमेजन क्षेत्रको ठूलो हिस्सा ब्राजिलमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।