चितवन- भरतपुर महानगरपालिकाको शुक्रबार भएको निर्वाचनमा एमालेले बहुमत ल्याएको छ। तीन जना दलित अल्पसंख्यकमा एमालेका उम्मेदवारले जित हासिल गरेका छन्। एमालेका चक्र रुचाल, टेकलाल विक सुनार र मनबहादुर विक विजयी भएका हुन्।
त्यस्तै, पाँच जना महिला सदस्यको निर्वाचनमा एमालेबाट तीन र कांग्रेसबाट दुई जना विजयी भए। नगर कार्यपालिकाको महिला सदस्यमा एमालेबाट धनकुमारी विश्वकर्मा, पार्वती विश्वकर्मा र विना गुरुङ विजयी भएका छन्। त्यस्तै, नेपाली कांग्रेसबाट गीता कुमारी शर्मा र पवित्रा केसी विजयी भए।
३९ सदस्यीय नगर कार्यपालिकामा एमालेका तर्फबाट २० र कांग्रेस-माओवादी गठबन्धनबाट १९ जना भएका छन्। नगर कार्यपालिकामा मेयर, उपमेयर पदेन रहनेछन् भने कार्यपालिका सदस्यमा २९ जना वडा अध्यक्ष, दलित तथा अल्पसंख्यकबाट तीन जना र निर्वाचित महिला सदस्यबाट पाँच जना गरी ३९ जनाको नगर कार्यपालिका बनेको छ।
नगर कार्यपालिकाको निर्वाचनमा भरतपुरका एक सय ४७ जना जनप्रतिनिधिले मतदान गरेको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।