काठमाडौं - विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणका खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टिम सोमबार खेलेको मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
मलेसियको लिग विजेता क्लब जोहोर दारुल टाजिम एफसीसँग नेपाल १-० ले हारेको हो। जोहोरको जितमा निकोलस अवर्टोले निर्णायक गोल गरेका थिए।
नेपाली टिम मंगलबार स्वदेश फर्कंदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली मंगलबार राति ९ बजे आइपुग्नेछ।
नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जन टिममा नपरेकाले साथै यसअघि उपकप्तानको जिम्मेवारीमा रहेका किरण चेमजोङ जापानमा र भरत खवास थाइल्याण्डमा रहेकाले नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गरेका थिए।
अब नेपालले आउँदो १९ मा कुवेतसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १-० ले पराजित भएको थियो।
विश्वकप छनोटमा कुवेतसँगको खेलपछि नेपालले चाइनिज ताइपेइसँग भदौ २४ गते चाइजिन ताइपेइमा नै खेल्नेछ। असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।

यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।

दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।