काठमाडौं - स्पेनिस क्लब बार्सिलोनामा आउन चाहिरहेका स्टार खेलाडी नेमारका लागि पिएसजीले एक सय मिलियन युरोसँगै उसमान डेम्बेले र नेलसन सेमेडो पनि दिनुपर्ने माग गरेको छ।
नेमारको समय तनावपूर्ण रुपमा बितिरहँदा बार्सिलोनाको एक टोली पेरिसमा नै सम्झौताका लागि लागिपरेको छ। उनीहरुको बैठक मंगलबार पनि बस्दैछ। ला लिगामा नयाँ सिजनको किनबेचको समय सकिने २ सेप्टेम्बरसम्म नेमारबारे निर्णय नभए उनको तनाव अझ बढ्नेछ।
बार्सिलोना अध्यक्ष जोसेफ मारिया बर्टामेउ भने नेमारका लागि यो सिजन लोनमा ल्याउने र अर्को सिजनका लागि १७० मिलियन युरो तिर्ने प्रस्तावमा नै बल गरिरहेका छन्।
बार्सिलोना समर्थकहरु पनि नेमारका लागि महत्वपूर्ण डिफेन्डर सेमेडो सहित डेम्बेले र एक सय मिलियन युरो दिनु घाटाको सम्झौता हुने बताइरहेका छन्। राइट ब्याकमा सेमेडो जस्तो अर्को खेलाडी नहुने उनीहरुको तर्क छ।
अहिले पिएसजीमा अभ्यासमा गइरहँदा फेरिएको व्यवहारले पनि नेमारमाथि तनाव बढेको छ। नयाँ सिजनका लागि बार्सिलोना जाने इच्छा सार्वजनिक भइसक्दा पनि त्यसमा कुनै प्रगति हुन सकेको भने छैन। स्पेनिस क्लब रियल मड्रिडले पनि इच्छा देखाइरहँदा उनको विशेष चासो भने बार्सिलोनासँग नै छ। रियल मड्रिड पछिल्लो समय पर्ख र हेरको स्थितिमा छ।
बार्सिलोनाले नेमारका लागि यसअघि लगेका प्रस्तावहरु पनि पिएसजीले अस्वीकार गरिरहेको छ। पछिल्लो समय रियल मड्रिड या बार्सिलोना जता जान मिले पनि पिएसजी छाड्ने मनस्थितिमा रहेका नेमार नयाँ सिजन स्पेन फर्कन चाहिरहेको देखिन्छ।

नेमार ल्याउन पिएसजीसँगको सम्झौताका लागि नै बार्सिलोनाका फुटबल निर्देशक इरिक अबिडाल फ्रान्स गए पनि उल्लेख्य प्रगति हुन सकेको छैन। बार्सिलोनामा नेमारले भित्र्याउने मागमा स्टार खेलाडी लियोनल मेस्सी नै संलग्न रहनुले पनि बार्सिलोना लागिपरिरहेको हो। त्यसका लागि एक सिजनका लागि लोनमा मात्रै ल्याउन सकिने पछिल्लो प्रयासमा बार्सिलोना केन्द्रित छ।
पीएसजी पनि नेमारलाई क्लब छाड्न दिन तयार छ, तर सम्झौता अघि बढ्न भने सकेको छैन।
२०१७ मा बार्सिलोना छाडेर २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा पीएसजी पुगेका नेमार पुनः बार्सिलोना फर्कने प्रयासमा ठूलो रकम नै बाधक बनिरहेको हो।
अहिले पीएसजी समय बिताउने शैलीमा देखिएको छ। छाड्न चाहने खेलाडीलाई बाटो खुला रहेको बताउँदै आएको पीएसजीले समय सकिएपछि नेमार क्लबकै रहने र प्रोफेसनल रुपमा अघि बढ्ने आशामा छ।
पिएसजी प्रशिक्षक थोमस टचेलले भने नेमारबिना पनि क्लब कसरी अगाडि बढ्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्। नेमारको विकल्प थाहा नभई उनलाई क्लबले छाड्न नहुने उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।