बियारिज- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै सुरु हुने बताएका छन्। दुवै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ।
फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले संवाददाताहरुसँग भने, 'गएराति चीनबाट फोन आयो र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ। त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं।'
राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाइ निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए।
गत शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए। संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ।
तर, अमेरिकी गठबन्धनका मुलुकहरुले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने बताइरहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।