काठमाडौं - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले आफूमाथि भइरहेको रंगभेदी व्यवहारले आफूलाई अझ बलियो बनाउँदै लैजाने बताएका छन्।
पछिल्लो समय फुटबल खेलाडीले सामाजिक सञ्जालमा रंगभेदी व्यवहारका घटनाहरु बढीरहेका छन्। प्रिमियर लिगमा गएको सोमबार वुल्भ्ससँग १-१ को बराबरी भएको खेलमा युनाइटेडका २६ वर्षका पोग्बाले पेनाल्टी सदुपयोग गर्न नसक्दा उनीमाथि रंगभेदी व्यवहार भएको थियो।
पोग्बामाथिको रंगभेदी व्यवहारको धेरै खेलाडीहरुले आलोचना गरेका थिए।
इंग्ल्याण्ड महिला फुटबल टिमका प्रशिक्षक फिल नेभिलले त्यस्ता खाले कुरालाई सामाजिक सञ्जालमा खेलाडीहरुले ध्यानै नदिन आग्रह गरेका थिए।
पोग्बाले पनि रंगभेदी व्यवहार गर्नेहरु अज्ञान रहेको भन्दै ट्वीट गरेका छन्। जुलाई पछि उनले गरेको पछिल्लो ट्वीटमा भावुक हुँदै आफ्नो सन्तानसहितको फोटो राखेका छन्।
स्वर्गीय पिता फासु एन्टोनी र नागरिक अधिकारकका लागि लडेका मार्टिन लुथर किंग सँगै रहेको फोटोमा लेखेका छन्, ‘आफ्ना सन्तानहरु अहिले स्वतन्त्र हुन् भनेर मेरा अभिभावक र पूर्खाहरु लडेका थिए, हामीले काम गर्न सकौँ, हामी सजिलै बस चढ्न सकौँ, हामी फुटबल खेल्न सकौँ भनेर।’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेयरले रंगभेदी ब्यवहार गर्नेहरु सामाजिक सञ्जालमा नचिनिने तस्बिरसहित आउने ‘फेक’ हरु रहेको बताएका थिए।
यस्तै पोग्बाका टिमका साथी मार्कस रासफोर्डलाई पनि शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २-१ ले हारेको खेलमा पेनाल्टी मिस गर्दा रंगभेदी व्यवहार भएको थियो।
गएको हप्ता रिडिङका स्ट्राइकर याकोउ मेटीले पनि पेनाल्टीमा गोल गर्न नसक्दा सामाजिक सञ्जालमा रंगभेदी व्यवहारको सामना गर्नुपरेको थियो। यस्तै लिभरपुलसँगको युइएफए सुपर कपको खेलमा पेनाल्टी मिस गरेपछि चेल्सीका स्ट्राइकर टामी अब्राहमले पनि यस्तै व्यवहार भोग्नु परेको थियो।
अब्राहममाथिको दुव्र्यवहारपछि चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले सार्वजनिक रुपमा नै सामाजिक सञ्जालले त्यस्ता खाले प्रवृत्तिमा निगरानी राख्नुपर्ने बताएका थिए।
तर त्यसको केही दिनमा नै पोग्बा र रासफोर्डमाथि सामाजिक सञ्जालमा त्यस्तै खाले दुव्र्यवहार भइरहेको छ। रंगभेदी व्यवहार गरेका केही ट्वीट हटाइएको छ भने केही सामाजिक सञ्जालमा अझै फैलिरहेका छन्।
रंगभेदी व्यवहारकाविरुद्ध काम गर्ने एउटा संस्थाको रिपोर्टअनुसार गएको सिजन फुटबल खेलाडीमाथि हुने यस्ता व्यवहार ४३ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।