काठमाडौं - ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले रियल बेटिसलाई ५-२ ले हराएको खेलमा १६ वर्षका एन्सुमान फातीले बार्सिलोना सिनियर टिममा डेब्यू गरे।
गिनी बिसाउका फरवार्ड फातीले रियल बेटिससँग खेल्नुअघि एक हप्ता सिनियर टिममा रहेर अभ्यास गरेका थिए। लियोनल मेस्सी, लुइस स्वारेज र उसमान डेम्बेले घाइते रहेको टिममा अन्तिम १२ मिनेट मैदानमा रहेका फातीले आफ्नो डेब्यू विश्वास नै गर्न सकेनन्।
१९४१ मा भिसेन्ट मार्टिनेचपछि सबैभन्दा कम उमेरमा बार्सा डेब्यू गर्ने खेलाडीसमेत बनेका फातीले आफू नर्भस भएको बताएका छन्।
‘वास्तवमा म एकदमै नर्भस भएको थिएँ, बार्सामा डेब्यू गर्न पाउनु सानो कुरा होइन, यसका लागि सबैलाई धन्यबाद दिन चाहन्छु’ खेलपछि उनले भने, ‘एकछिन त विश्वास नै नभएर म मैदानमा नै बसेँ, अब अहिले त्यो अवसर सेलिब्रेसन गर्ने बेला आएको छ, मसँग धन्यबादका शब्दहरु मात्र छन्।’
फातीको डेब्यूपछि पूर्वखेलाडी भिक्टर भाल्देसदेखि अहिलेका कप्तान लियोनल मेस्सीले समेत बधाई दिएका छन्। मेस्सीले त खेल सकिएर फर्कने बेलामा नै अंकमाल गरेर उनलाई बधाई दिएका थिए।

मेस्सीले इन्स्टाग्राममा फातीसँगको फोटो राखेर बधाई दिँदै लेखेका छन्, ‘सबैको लागि राम्रो खेल, हामीले ला लिगामा महत्वपूर्ण तीन अंक ल्यायौँ र ला मासियाका खेलाडीको खेल देखेर पनि खुसी छु।’
बार्सिलोनाको जितमा एन्टोनियो ग्रिजम्यानले दुई, कार्लेस पेरेज, जोर्डी अल्बा र आर्टुरो भिडालले एक–एक गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।