काठमाडौं - इंग्ल्याण्ड क्रिकेट टिमका अलराउण्डर बेन स्टोक्सले महत्वपूर्ण खेलमा शतक बनाउँदै टिमलाई जिताउन पाउनु गजवको अनुभूति भएको बताएका छन्। तेस्रो टेस्टमा अस्ट्रेलियालाई एक विकेटले हराउँदा स्टोकको शतक महत्वपूर्ण बनेको थियो।
३५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि अविजित १३५ रन बनाएका थिए। अन्तिम विकेट बाँकी छँदा उनको ११ चौका र ८ छक्काकै मद्धतमा पाँच टेस्टको श्रृङ्खला एक–एक को बराबरी भएको हो।
पहिलो टेस्ट अस्ट्रेलियाले २५१ रनले जितेको थियो भने दोस्रो टेस्ट बराबरी भएको थियो।
यसैले तेस्रो टेस्ट जितेपछि स्टोक्सले भनेका छन्, ‘अन्तिमसम्म टिकेर एसेज जित्ने सम्भावना बनाइराख्न पाउँदा खुसी लागेको छ। यस्तो खाले अवसर बारम्बार आउँदैन।’
अन्तिम विकेट बाँकी हुँदा पनि इंग्ल्याण्डलाई जितका लागि ७३ रन चाहिएको थियो। जतिबेला स्टोक ६१ रन बनाएर खेलिरहेका थिए। ज्याक लिचको साथमा उनले सम्हालिएको खेल देखाउँदै जिताए।
इंग्ल्याण्डको जितमा जोय रुटले ७७, जोय डेन्लीले ५० रन साथै जोन्नी ब्रेस्टोले ६ रन बनाएका थिए।
पहिलो इनिङमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। इंग्ल्याण्ड पहिलो इनिङमा खराब ब्याटिङ गर्दै ६७ रनमा नै अलआउट भएको थियो। त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिङमा २४६ रन बनाएको थियो।
अब चौथो टेस्ट सेप्टेम्बर ४ मा सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।