काठमाडौं - सिसिआरसीकाद्वय आरिश महर्जन र अनुष्का प्रसाईं चौधौं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ च्याम्पियन बनेका छन्। आरिश पुरुष तथा अनुष्का महिलामा पहिलो बनेका हुन्।
हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा आरिशले एभरेष्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ को सेटमा पराजित गरे। ललितपुरकाद्वय रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला फाइनलमा अनुष्काले भक्तपुरकी दिया देउलालाई ११–६, ११–८, ११–९ र ११–७ को सोझो सेटमा हराइन्। विजेश्वरीकी अनुष्का सिम्खडा तथा ललितपुरकी प्रणिका कुँवर तेश्रो बने। पहिलो हुने आरिश र अनुष्काले समान ५–५ हजार नगद पुरस्कार पाए।
विजेतालाई प्राडा सुरेन्द्र केसी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, स्व हरेरामका छोरा पूर्व टेबलटेनिस प्रमुख प्रशिक्षक रमेशराज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा १ सय ८५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।