रियो दि जेनेरियो- ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्।
अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापीरूपमा व्यक्त गरिएको चासोलाई सम्बोधन गर्दै राष्ट्रपति बोल्सोनारोले पत्रकारसँगको कुराकानीमा भने, 'हाम्रा एकाईहरूले उक्त क्षेत्रमा डढेलो नियन्त्रणमा ल्याउन काम सुरू गरिसकेका छन्। अहिले जङ्गलमा आगो विश्वव्यापीरूपमा चर्चा गरिएजस्तो विकरालरूपमा फैलिएको छैन। डढेलोको वन क्षेत्रमा नभई स्थानीयद्वारा पहिल्यै फडानी गरिएको खाली क्षेत्रमा बढी प्रभाव परेको हो।'
ब्राजिलमा यस वर्ष औषत सङ्ख्यामा नै डढेलोका घटना भएका राष्ट्रपतिले दाबी गरे। उनले भने, 'विगत केही वर्षयता हेर्दा यस वर्ष डढेलोका घटना कम भएका सरकारी मूल्याङ्कन रहेको छ।'
'विश्व समुदायको ध्यानाकर्षण भएको जङ्गल क्षेत्रको डढेलो अहिले सामान्य बन्दै गइरहेको छ।'
यद्यपि ब्राजिलको नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीचको तथ्याङ्क हेर्दा यो समयमा डढेलोको समस्या ८२ प्रतिशतले वृद्धि भएको र यसको आधा भाग अमेजन क्षेत्रको औषत धेरै वर्षा हुने घना जङ्गलमा लागेको पाइएको उल्लेख छ।
अमेजनको अत्यधिक वर्षा हुने जङ्गलको ६० प्रतिशत भू-भाग ब्राजिलमा पर्छ। बाँकी ५५ लाख वर्गकिलोमिटर जङ्गल दक्षिण अमेरिकामा पर्छ। अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।