काठमाडौं - भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली खेल जित्नका लागि के गर्नुपर्छ भन्नेबारे प्राय बोलिरहेका हुन्छन्। आफ्नो टेस्ट कप्तानीमा पनि अप्ठ्यारो परिस्थितिमा कसरी ब्याटिङमा जाने र फिल्डिङ मजबुत पार्ने भन्नेमा उनी स्पष्ट छन्।
विश्व च्याम्पियनसिपमा भारतको पहिलो टेस्टमा जानुअघि यस्तै खाले अवसर र प्रश्नहरु फेरि अगाडि आएका छन्। त्यसमा पनि महत्वपूर्ण खेलाडीका रुपमा रहेका अफ स्पिनर आर आश्विन नहुनुले अरुसँगै पूर्व कप्तान सौरभ गांगुलीको ध्यान पनि खिचिएको छ।
‘मलाई के लाग्छ भने विराटले ध्यान दिनुपर्ने यो एउटा क्षेत्र हो। खेलाडीहरु लिने र उनीहरुलाई आफूलाई देखाउन मिल्ने गरी अलि लामो समय खेलाउने गर्नुपर्छ’ गांगुलीले भनेका छन्, ‘खेलाडीहरुले एउटा लय लिन र विश्वस्त हुन समय लिन्छन् नै, एकदिवसीयमा श्रेयस ऐयरको खेलले पनि त त्यही देखाउँछ।’
विराटले टिमका खेलाडी राख्ने कुरामा हतारो नगरी राम्ररी अवसर दिनुपर्ने र त्यसो हुँदा मात्रै नतिजा देखिँदै जाने गांगुलीको भनाई छ।
गांगुलीले टिममा कुलदिप यादव नहुनुमा पनि आश्चर्य व्यक्त गरेका छन्। ‘उनले खेलेको अन्तिम टेस्टमा अस्ट्रेलियाको ५ विकेट लिएका थिए, उनलाई मौका दिनपथ्र्यो जस्तो लाग्छ’ उनले भने।
भारतले खेलहरु जित्न खेलाडीसँग भर्खरै दुई वर्षको सम्झौतामा आएका प्रशिक्षक रवि शास्त्रीले पनि राम्रो भूमिका निर्वाह गर्नेमा गांगुली ढुक्क भने देखिन्छन्।

वेस्ट इन्डिजविरुद्ध ११ टेस्ट खेलेका आश्विनले ५५२ रन दिएर ६० विकेट लिएका छन्। यसैले पनि उनको भूमिका महत्वपूर्ण हुने गांगुलीसँगै अन्य पूर्वक्रिकेटरको भनाई रहेको छ।
वेस्ट इन्डिजसँगको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिँदा भारतले २६० रनले लिड गरिरहेको छ। पहिलो इनिङमा भारतले २९७ रन साथै वेस्ट इन्डिजले २२२ रन बनाएका थिए। भारतले दोस्रो इनिङमा तीन विकेट जाँदा १८५ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।