भरतपुर- चितवनमा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका-२, गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो। वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो।
मृतकको नाम गोप्य राखिएको छ। सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो। सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए।
जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ। उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५ सय ६७ जनाको परीक्षण गरिएकामा २ सय २५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ। तीमध्ये ४० प्रतिशत बिरामी भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए।
डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।